पाँचखाल बृहत् खानेपानी : चौपक्षीय सम्झौता, तीन वर्षमा सक्ने लक्ष्य

पाँचखाल बृहत् खानेपानी : चौपक्षीय सम्झौता, तीन वर्षमा सक्ने लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

पाँचखाल नगरपालिकामा सञ्चालन गरिने सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाको काम औपचारिकरूपमा शुरु भएको छ । यसका लागि चार पक्षबीच आयोजना व्यवस्थापनमा सहमति भएको छ ।

बहुप्रतीक्षित यस आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, पाँचखाल नपा र उपभोक्ता समितिका पदाधिकारीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सोमबारदेखि खानेपानी आयोजनाको काम शुरु भएको नगरप्रमुख महेश खरेलले बताए। उनका अनुसार सोही अवसरमा नगर विकास कोष र खानेपानी आयोजनाबीच ऋण एवं जमानत सम्झौतासमेत गरिएको छ । उक्त सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक राजेशकुमार भोछिभोया र उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कोषले खानेपानी आपूर्तितर्फको कूल रकम पाँच प्रतिशत ब्याजदरमा उपलब्ध गराउने उल्लेख छ । उसले सम्झौताको पाँच वर्षसम्म सहुलियत दिने तथा २०८२ असार महिनादेखि ऋणको साँवा ब्याज बुझाउनुपर्ने उल्लेख गरिएको भोछिभोयाले बताए। आयोजना दुई अर्ब २१ करोडमा तीन वर्षमा सक्ने लक्ष्य लिइएको छ । सम्झौताको शर्त अनुसार आयोजना लागतको कूल रकमको पाँच प्रतिशत उपभोक्ताले जम्मा गरिसकेका छन् । पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् ।

परियोजनाको ०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजना अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ता समितिबीच सम्झौता भएको थियो । नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुने भएको हो ।

यसैबीच आयोजना सम्पन्न गर्न नेपाली र चिनियाँ कम्पनी छनोट गरिएको छ । ऐनअनुसार कम लागतमा निर्माण सक्ने प्रस्तावक नेपाली कन्काई र चिनियाँ हुवाछे ज्वाइन्ट कम्पनीलाई छनोट गरिएको आयोजनाले जनाएको छ । आयोजनाका लागि नौ निर्माण कम्पनीले प्रस्ताव गरेका थिए । नौ मध्ये नेपाली कम्पनी कन्काई विल्डर्स र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) छनोट गरिएको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताए। उनले प्राविधिक र आर्थिक मूल्याङ्कनपछि ज्वाइन्ट भेन्चर कम्पनी छनोट गरी आयोजनाको ठेक्का सम्झौता प्रक्रिया गरिएको जानकारी दिए। श्रेष्ठका अनुसार आयोजना अन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो ।

काभ्रेको पाँचखालस्थित सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजनाको काम तीव्रगतिमा अघि बढाइने पूर्वमन्त्री बाँस्कोटाले बताए । उनले भने, “काम शुरु गर्न सम्झौता भइसक्यो अब आयोजनाको काम तीव्रगतिमा अघि बढाइनेछ ।” उनले निरन्तर निर्माणले लक्ष्य अनुसारको समयसीमासम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा लिइएको बताए। “लक्ष्य अनुसारको समयमै पाँचखालका बासिन्दालाई खानेपानी उपलब्ध गराइनेछ”, उनले भने ।

बाँस्कोटाले पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि आउँदो आर्थिक वर्षलाई रु ३४ करोड ४१ लाख बजेट विनियोजन गरेको बताए। खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयले सर्भेको काम सकेको छ । परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।रासस

Logo