रानीपोखरीको पिँध र पर्खालको काम सम्पन्न (भिडियोसहित)

रानीपोखरीको पिँध र पर्खालको काम सम्पन्न (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रानीपोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पाँच वर्ष अघिको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनःनिर्माण अन्तर्गत उपभोक्ता समितिमार्फत पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले प्राधिकरणलाई सोमबार जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिने बताए।

०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो । गत वैशाख १२ गते गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन अगावै यो कामसक्ने तालिका भए पनि कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण प्रभावित भएको थियो ।

पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको आकाशे पानी सङ्कलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्न प्राथमिकता दिने तयारी भएको बताए । पानी नपुग भएमा भूमिगत स्रोतबाट राख्ने व्यवस्था मिलाउने जानकारी पनि उनले दिए ।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनःनिर्माण हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणले अघि सारेको छ । रानीपोखरीको पिँध पुनःनिर्माणका लागि शुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो । पछि सीप हस्तान्तरण गरी काठमाडौँका कालीगढ पनि सहभागी भएका थिए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ । यी काम सिए/तुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ । ठेक्काको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिए। बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेको उनले सुनाए।रासस

Skip This
Skip This
Logo