सलह किरा नेपाल भित्रिएसँगै चिन्ता बढेको छ ।
तर प्रदेश नं ५ को सरकारले एक किलो सलहको २० रुपैयाँ दिने निर्णय गरेको छ । सलह किरा जम्मा गरेर ल्याउनेलाई किलोको २० रुपैयाँका दरले नगद दिने घोषणा गरेको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले सलह किराले क्षति गर्न थालेपछि क्षति कम गर्ने एउटा उपाय भएकोले यस्तो घोषणा गरिएको बताए ।सलह किरा दिउँसो उड्ने र साँझमा बास बस्ने भएकाले बास बसेकै ठाउँबाट संकलन गर्न सकिने भएकाले सलह संकलन गर्न र सरकारले दिने प्रोत्साहन बापतको रकम लिन अपिल गरेको छ । यसले सलह नियन्त्रण हुने र खेती जागिने महत्वपूर्ण उपाय भएको प्रदेश सरकारको ठहर छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।
यसरी विषादी बनाउँदा ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयले मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न समेत अनुरोध गरेको छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । यो किरा नेपालका विभिन्न जिल्लामा पुगिसकेको छ ।
सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।
सलह किराका कारण सन् २०२० को फेब्रुअरीमा पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकाल घोषणा गरिएको थियो भने । भारतमा मे महिनामा प्रवेश गरेको सलहले ५० हजार हेक्टरमा लगाएको बालिनै नष्ट गरेको थियो ।
प्रतिक्रिया