काभ्रे।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले काभ्रेको मण्डनदेउपूर नगरपालिका–७ स्थित नौबीसेमा नगरस्तरीय अस्पताल भवनको आज शिलान्यास गरेका छन् ।
आकस्मिक, प्रसूति, बहिरङ्ग सेवा प्रदान गर्ने उद्देश्यले १५ शैया क्षमताको अस्पताल निर्माण हुन लागेको हो । सो अवसरमा मन्त्री दुलालले प्रदेश सरकारले अन्य स्थानीय तहमा पनि अस्पताल निर्माण गर्ने योजना बनाएको बताए ।
उनले भने, “कुनै पनि नागरिक स्वास्थ्य सेवाको पहुँचबाट टाढा नगराउने उद्देश्यले अस्पताल निर्माण थालिएको हो ।” उनका अनुसार उक्त अस्पताल निर्माणका लागि प्रदेश सरकारले सात करोड बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आफूहरू स्वस्थ समाज निर्माणार्थ खटिरहेको बताए । “स्वस्थ जीवनशैलीले मात्रै समृद्धि सम्भव हुने भएकाले प्रदेश सरकार सधैँ स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ”, उनले भने । अर्का प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार दत्तचित्त रहेको बताए। उनले भने, “गाउँमै मानव जीवनमा आवश्यक गुणस्तरीय स्वास्थ्य सुविधा पाउँदा स्थानीयमा सुखद विषय हो ।”
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झा, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, नेपाली काँग्रेसका जिल्ला उपसभापति अच्युत पौडेल लगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी स्थानीयस्तरमा अस्पताल बन्नु खुशीको विषय भएको उल्लेख गर्दै जिल्लाका अन्य स्थानीय तहमा यस्तै क्षमताका अस्पताल बनाउनु पर्ने आवश्यकता औँल्याए ।
अस्पताल सञ्चालनको प्रारम्भिक चरणमा एक चिकित्सकको नेतृत्वमा नर्सिङ सेवा, प्यारामेडिक तथा प्रयोगशालासमेतको सुविधा प्रदान गर्ने योजना रहेको बताइएको छ । पहिलो चरणमा पाँच शैया राख्दै १५ शैयासम्म विस्तार गरिने नगरप्रमुख टोकबहादुर वाइबाले बताए । उनले अस्पताल निर्माणका लागि रु १२ करोड ४५ लाख लाग्ने तथा आउँदो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए । उनका अनुसार अस्पतालबाट छिमेकी सिन्धुपाल्चोकको केही स्थानीय तहका बासिन्दालाई समेत सुविधा पुग्नेछ ।रासस





























प्रतिक्रिया