काठमाडौं ।
नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापनमा उल्लेख्य सहयोग गरेका भक्तपुरका राजेश गाइजू र अरुण सैँजुलाई नेपाल स्काउटले पराक्रमी पट्ट पदकबाट सम्मान गर्ने भएको छ।
उनीहरुले जेठ ३ गते धुलिखेल अस्पतालबाट कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरीको शव पशुपति आर्यघाटसम्म पुर्याएर व्यवस्थापनमा सहयोग गरेका थिए । मृत्तक महिलाको शव छुने आँट कसैले पनि नगरे पछि नेपाल स्काउटका सदस्यद्वय गाइजु र सैंजुले आँट गरेर शवलाई धुलिखेलबाट पशुपति आर्यघाटसम्म ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेका थिए । त्यस यता उनीहरुको चर्चा निकै चलेको थियो ।
उनीहरु दुवैजनालाई एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कारसहित पराक्रमी पट्ट पदकबाट सम्मान गर्ने निर्णय गरेको स्काउटले जनाएको छ ।
नेपाल स्काउटले आफ्नो ६९ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यमा उल्लेख्य योगदान गर्ने ६ जनालाई विभिन्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत गाइजु र सैंजु पनि छनौटमा परेका हुन् ।
यसैगरि भक्तपुरकै न्हूज किजु र पुनम कर्माचार्य पनि ७५ हजार नगद सहित पराक्रमी पट्ट दोस्रो दर्जा पुरस्कारबाट सम्मानित हुने भएका छन् भने मोरङका राजाराम घिमिरे र दिवस राजवंशीलाई पनि दीर्घ सेवापदकबाट सम्मान गर्ने निर्णय भएको स्काउटले जनाएको छ ।





























प्रतिक्रिया