ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टाइन

ललितपुर महानगरले शुरु गर्‍यो महिलालाई छुट्टै क्वारेन्टाइन

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाले विदेशबाट आएका महिलाहरुको लागि छुट्टै क्वारेन्टाइन संचालन गरेको छ । महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको नेपाल युथ फाउण्डेसन अन्तर्गत रहेका पोषण पुनर्स्थापना गृहको दुई वटा भवनमा क्वारेन्टाइन संचालन गरिएको हो ।

यी गृहमा कुपोषणले ग्रसित महिला र बालबालिका बसेका थिए । लकडाउन सुरु भएपछि उनीहरु केही घर गए भने केहीलाई अन्यत्रै सारिएको फाउण्डेसनले जनाएको छ । क्वारेन्टाइन संचालनका लागि महानगरका प्रमुख चिरीबाबु महर्जन र फाउण्डेसनका प्रमुख कार्यकारी निर्देशक राजु धमलाले क्वारेन्टाइन संचालन र व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महिलाहरुको सुरक्षालाई ध्यान दिएर छुट्टै क्वारेन्टाइन संचालन गरिएको बताए । उक्त क्वारेन्टाइनमा हाललाई २४ शैयाको छ । आवश्यकता अनुसार ठाउँ बढाउने महानगरले जनाएको छ । नेपाल युथ फाउण्डेसनका प्रमुख सोम पनेरुले मुलुकलाई संकट परेको बेला आफ्नो संस्थाको भवन प्रयोग गर्न पाउँदा खुशी लागेको बताए । महानगरले सहकार्यको प्रस्तावलाई स्वीकार गरेकोमा धन्यवाद दिए । पनेरुले आवश्यक पर्दा क्वारेन्टाइनमा बस्ने महिलालाई मनोसामाजिक परामर्श दिइने बताए ।

ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले लकडाउन खुकुलो भएसँगै चिन्ता थपिएको बताए । उनले विदेश गएका नेपालीहरु नेपाल फर्कर्ने क्रम बढेसँगै व्यवस्थापन महत्वपूर्ण भएको बताए । त्यसका लागि वडा पिच्छे होल्डिङ सेन्टर खोल्ने तयारी भएको उनले बताए । महानगरले यस अघि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सभित्रको खेलाडीहरुको होस्टेलमा क्वारेन्टाइन संचालन गरिसकेको छ । महानगरको र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन देवी थापा गुरुङले महानगरले संचालन गरेको क्वारेन्टाइन व्यवस्थित भएको बताइन् ।

Logo