रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाएका छन् ।

उनले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको बताए । उनले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित छ जनाको हत्या भएको थियो । घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही हुन सिफारिश गरेको छ ।

नेपाल प्रहरीको अनुसन्धानबाट दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४ (३६) १, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६) ३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, विराज पुन मगर र सर्वजित भन्ने सविन पुनलाई ज्यान सम्बन्धी कसूर अनुसार सजाय माग गरिएको छ ।

प्रतिवादी इन्द्रबहादुर मल्लले सो घटनाको सूचना पाएर पनि सम्बन्धित निकाय समेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाईछिपाई मतियारको कार्य गरेको र विनोद मल्ल, रेशम मल्ल समेतका प्रतिवादीले नवराज विकसमेतका व्यक्तिलाई लखेट्दै नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यमा प्रतिवादी तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमले सहयोग गरी मतियारको कार्य गरेकाले निज प्रतिवादी इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमलाई कारबाहीको सिफारिश गरिएको छ ।रासस

Logo