सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्न दिनु स्वभाविक हो–प्रधानमन्त्री

सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्न दिनु स्वभाविक हो–प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मेवारी दिने काम स्वभाविक भएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्न दिनु स्वभाविक भएको बताएका हुन् । विगतमा पनि सेनाले हतियार, हेलिकप्टर लगायतका सामाग्री खरिद गरेको भन्दै अहिले सेनालाई व्यापारी भन्ने नमिल्ने उनको तर्क छ । साथै नेपाली सेनालाई सरकारभन्दा बाहिरको संस्था भए जस्तो व्यवहार गर्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘राम्रो कुरा गर्न नजान्ने, नगर्ने र नराम्रो कुरा गर्नु धर्म ठान्ने देखिएको छ’–प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै भने–‘खरिद नगर्दा पनि भएन । खरिद गर्दा पनि भ्रष्टाचार बाहेक केही नदेख्ने ।’

उनले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइएकोे विशाल ग्रुपलाई आफूले नचिनेको बताएका छन् । उनले भने–‘विशाल ग्रुप भन्या कुन हो ? जथाभावी नै बोल्ने हो भने त बेग्लै कुरा हो । यस्तो कुराहरु सांसदजस्तो जनप्रतिनिधिले बोल्दा ध्यान दिनुपर्ने हुन्छ । सरकारको त्यसतर्फ ध्यान गएको छ । कुनै प्रकारको अनियमितता भएको देखिए छानबिन र कारबाही हुन्छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापनका सम्बन्धमा गृहमन्त्रालयको भूमिका नखोसिएको भन्दै भ्रमपुर्ण कुरामा नपर्न आग्रह गरेका छन् । उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसारका संरचनाले प्राकृतिक प्रकोपलाई मात्रै सम्बोधन गरेको र महामारीलाई सम्बोधन गर्न नसकेकाले अर्को संयन्त्र गठन गर्नुपरेको स्पष्ट पारेका छन् ।

Logo