काठमाडौँ,
काठमाडौँको न्युरोडमा प्रहरी र ब्यापारीबीच तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले जबर्जस्ती पसल बन्द गर्न लगाएपछि ब्यापारीहरूले प्रतिकार गरेपछि तनावको अवस्था सिर्जना भएको हो ।
दुवै पक्षबीच मुखामुख र घम्साघम्सी भएपछि त्यस आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ब्यापारीहरूले प्रमुख जिल्ला अधिकारीहरुसँग भएको छलफल अनुसार नै पसल खोलेको बताएका छन् । प्रहरीले खाद्यान्न बाहेक अन्य पसल संचालनका लागि कुनै निर्णय नभएको बताएको छ ।

प्रहरीसँगको विवादमा ब्यापारीहरूले लगातारको लकडाउनका कारण भाडा तिर्नै मुस्किल परेकाले राहत दिलाउन माग गरेका छन् । ‘कि हामीलाई भाडा तिर्ने पैसा दिनुपर्यो कि भाडा छुट गराउनु पर्यो अथवा पसल खोल्न दिनुपर्यो ।’ ब्यापारी रमेश स्थापितले भने ।

सरकारले पटक पटक लकडाउनको समयावधि थप गरेपछि रुष्ट ब्यापारीहरूले गत जेठ २२ गतेदेखि पसल खोल्न थालेका थिए । उनीहरूले बिहान ११ बजेसम्म पसल खोल्दै आएका छन्।


नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पनि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको बताए ।


सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको ७८ दिन पुगेको छ । लामो समय लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण हुन नसकेको भन्दै लकडाउनको मोडालिटी फेरबदल गर्न दवाव बढ्दो छ ।
यद्यपि सरकारले भने यस विषयमा कुनै निर्णय गरेको छैन ।






























प्रतिक्रिया