नेपाली सेनाद्वारा भारतीय मिडियामा आएका समाचारकाे खण्डन

नेपाली सेनाद्वारा भारतीय मिडियामा आएका समाचारकाे खण्डन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली सेनाले भारतीय मिडियामा आएका समाचार कुत्सित मनशायप्रेरित र अफवाहपूर्ण भएको बताएको छ । सेनाले भारतीय मिडियामा आएका समाचारले नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसाय र अफवाह मात्रै भएको भन्दै त्यस प्रती खण्डन गरेको हो ।

नेपाली सेनाले शुक्रबार एक ध्यानाकर्षण पत्र जारी गर्दै राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपाली बीचमा विभाजन ल्याउने प्रयास भएको र आगामी दिनमा पनि यस्ता अफवाह फैलन सक्ने भन्दै सचेत र सजग रहनसमेत आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको अभिव्यक्तिको खण्डन गर्न दिएको निर्देशन नेपाली सेनाले नमानेको भन्दै भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमबाट प्रकाशित समाचार भ्रमात्मक र अफवाहपूर्ण भएको सेनाले ध्यानार्कषण पत्रमार्फत स्पष्ट पारेको छ ।

नरभानेले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतकै भएको र नेपालले कसैको इसारामा यस्तो कदम उठाएको हो, भन्दै नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको खिलाफमा अभिव्यक्ति दिएका थिए ।

‘भ्रामक, दूराशयपूर्ण काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सेनाद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ । सेनाले उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्वन्ध भएका दुई सेनाबीचको सम्वन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यले प्रेरित देखिएको उल्लेख गरेको छ ।

नेपाल सरकारले अतिक्रमित भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय सञ्चार माध्यमहरूले नेपाल र नेपालीका बारेमा विभिन्न समय विभिन्न टिका–टिप्पणी गर्दै आएका छन् ।

Logo