काठमाडौं । पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ । रुकुम पश्चिममा भएको अमानविय घटना लगायत देशभरी दलित समुदायमाथि भएका घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
संघले काठमाडौंको माइतीघर मण्डलासहित देशभर विरोध कार्यक्रम गरिएको जनाएको छ । संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटना विरुद्ध देशव्यापी आन्दोलन थालिएको बताए । यति ठूलो घटना हुँदा पनि राज्य अध्याँरोमा मौन बसेकाले मैनबत्ति बालेर विरोध प्रदर्शन गरिएको उनको भनाइ छ । जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारबाही गर्न दबाब दिने उदेश्यले विरोध कार्यक्रम गरिएको उनले बताए । विरोध कार्यक्रममा घटनाको प्रतिकारात्मक रुपमा प्रदर्शनमा सहभागीमध्ये पाँच जनाले सेतो कपडा बेरेका थिए । साथै पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहिद घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।
गत शनिबार मल्ल थरकी बेहुली लिन गएका दलित युवाहरुलाई रुकमको चौरजहारीमा गाउँलेहरुले घेरा हालेर कुटपीट गरेका थिए । गाउँलेको कुटपीटबाट बच्न ६ जनाले भेरी नदीमा हाम फालेका थिए । नदीमा हाम फालेका ६ जनामध्ये अहिलेसम्म पाँच जनाको शव भेटिएको छ । भने अझै एक जना वेपत्ता छन् ।





























प्रतिक्रिया