काठमाडौं ।
गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने तीन पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।
भारतको अनलाईन टाइम्स अफ इन्डियाले पाकिस्तान एमेच्योर एथ्लेटिक्स फेडेरेसनको स्रोतलाई हवाला दिदै सागका तीन पदकधारी एथ्लेटिक्स खेलाडीहरु प्रतिबन्धित औषधी सेवनका कारण डोपिङ परीक्षणमा असफल भएको जनाएको छ । डोपिङमा असफल भएका उनीहरूमाथि चार वर्षको प्रतिबन्ध लाग्न सक्नेछ ।
स्वर्ण पदक जितेका दुई जना र कास्य जितेका एक जना पाकिस्तानी धावक डोपिङमा परेका हुन् । दशरथ रंगशालामा भएको एथ्लेटिक्स अन्तर्गत ११० मिटर हडल्समा स्वर्ण जितेका मोहमद नइम, ४ सय मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र सय मिटरमा कास्य जितेका सामी उलाह डोपिङमा परेका हुन् ।
‘पाकिस्तान एथ्लेटिक्स फेडेरेसनलाई उनीहरु डोपिङमा असफल भएको रिपोर्ट प्राप्त भएको छ,’ पाकिस्तानी अधिकारीले बताएका छन् । विश्व एन्टी डोपिङ एजेन्सीको नियम पालन गर्दै अब उनीहरुलाई डोपिङको विषयमा स्पष्ट पार्ने मौका दिइनेछ । त्यसपछि उनीहरूलाई प्रतिबन्ध लगाउने विषयमा निर्णय हुनेछ ।
‘उनीहरूको स्पष्टिकरण चित्त बुझ्दो नभएमा चार वर्ष वा त्यो भन्दा बढी अवस्था हेरेर प्रतिबन्ध हुन सक्नेछ,’ पाकिस्तानी अधिकारीले भनेका छन् । १३ औं सागमा पाकिस्तानले ३२ स्वर्णसहित कुल १ सय ३२ पदक जितेको थियो ।





























प्रतिक्रिया