संविधान संशोधन सम्बन्धी विधेयक बुधबार पेस हुने

संविधान संशोधन सम्बन्धी विधेयक बुधबार पेस हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संविधान संशोधनसम्बन्धी विधेयक बुधबार संसदमा पेश हुने भएको छ । मंगलबारको बैठकमा पेश गर्ने भनिएको सो विधेयक अन्य विषयमा छलफल भएकाले बुधबार सारिएको हो ।

नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएसँगै संविधानमा भएको निसान छाप अध्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो । श्रोतका अनुसार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव बुधबारको कार्यसूचीमा राख्नका लागि अनुमति दिइसकेका छन् ।

बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । सभामुखको अनुमतिपछि मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेस गर्नेछिन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गत शुक्रबार संविधान संशोधन विधेयक संसदमा दर्ता गरिएको थियो ।

गत जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भू–भाग समावेश गरी नयाँ नक्सा जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही मन्त्रिपरिषद्को प्रस्ताव अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत जेठ ७ मा मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी थिइन् । जुन नक्सामा संघीयताको मर्म अनुसारको सात प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहका साथै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको ३ सय ३५ वर्ग किलोमिटर भू–भाग उल्लेख गरिएको थियो ।

Logo