महावीर पुनको प्रश्न- “मृतकले श्वास फेर्दैन अनि कोरोना सर्छ भनेर किन डराउँने ?”

महावीर पुनको प्रश्न- “मृतकले श्वास फेर्दैन अनि कोरोना सर्छ भनेर किन डराउँने ?”

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख तथा म्यागसेसे पुरस्कार विजेता महावीर पुनले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा देखिएको त्रास अस्वभाविक भएको बताएका छन्। पुनले व्यक्तिको नाक र मुखबाट निस्कने हावा र तरल पदार्थको माध्यमबाट कोरोना भाइरस सर्ने र मृतक व्यक्तिले श्वास नफेर्ने भएकाले डराउनु नपर्ने बताएका हुन्।

‘बास्तबिकता के हो भने मरेको मुर्दाले सास फेर्दैन र सास नफेरेपछि उसको मुख र नाकबाट हावा र बाफ बाहिर आउंदैन। कोरोना सर्ने मुख्य माध्यम भनेको बिरामीको नाक र मुखबाट निस्कने हावा र तरल पदार्थ हो, अनि मरेको मान्छेको नाक र मुख बाट हावा नै ननिस्कने भएपछि किटाणु बाहिर आउंदैन. अनि किन साह्रै भन्दा साह्रै किन डराउनु पर्यो ??’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

मृतक व्यक्तिले लगाएको कपडामा कोरोनाको भाइरस केहि घण्टासम्म जीवित रहन सक्ने भएपनि लामो समयसम्म बाँच्न नसक्ने भएकाले लाश छोएपछि खुस्रुक्कै मरिएला जस्तो  नगर्न सुझाएका छन्। ‘सुरुमा मरेको शरीरमा किटाणु मार्ने झोल छर्कने अथवा अल्ट्रा-भायोलेट किरणले किटाणु रहित बनाउने, अनि सफा कपडाले दुई तिन फन्को राम्रोसंग बेर्ने र कार्डबोर्डको बाकसमा राखेर घाटसम्म पुर्‍याउने र चितामा जलाउने। गाड्नु भन्दा जलाउनु पूर्ण सुरक्षित उपाय हो। ‘ उनले भनेका छन्।

पुनले शव व्यवस्थापनका लागि आवश्यक पर्ने बाकस अथवा ब्यागको डिजाईन पेश गर्न पनि आव्हान गरेका छन्। डिजाईन प्रतियोगिताका विजेतालाई नगद  १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘स्थानीय बजारमा पाइने बस्तुहरु प्रयोग गरेर बनाउन सकिने हुनुपर्ने, सो बाकस वा ब्याग पूर्णरुपमा पानी र हावा नछिर्ने र सिल भएको हुनुपर्ने, र नेपाली संस्कार सुहाउँदो हुनु पर्नेछ।’ 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । ति मध्ये ७० जना निको भएर घर फर्किएका छन्।

Logo