काठमाडौं ।
सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्रफल कति भयो भन्ने जिज्ञासा छ। सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ।
सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले एक लाख ४७ हजार नौ सय ५० वर्गकिमी हुने बताइरहेका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारको आधिकारिक फेसबुकमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्गकिमी उल्लेख छ।
गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ। यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्गकिमी क्षेत्र बढेको देखिन्छ। नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्गकिमी थियो।
नापी विभागका पूर्वउपमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिलो प्रकाशन गरेको १ः १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्रसमेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिब एक लाख ४७ हजार नौ सय ५० वर्गकिमी देखिन्छ। जुन हालको क्षेत्रफलभन्दा ७ सय ६९ वर्गकिमी बढी हुन्छ। सीमा बचाऊ अभियानले सरकारले जारी गरेको नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार नौ सय ५० वर्गकिमी हुने बताएको छ ।
त्रिभुवन विश्वविद्यालयका भूगोल विभागका प्राध्यापकसहितको विज्ञ टोलीले श्रेष्ठकै क्षेत्रफल बराबर हुने बताएको छ। भूगोल विभागका पूर्व प्रमुख एवं प्राडा नरेन्द्रराज खनाल, शेरबहादुर गुरुङ लगायतको प्राविधिक टोली संलग्न सीमा बचाऊ अभियान यस अघि लिम्पियाधुरासहित नक्सा सार्वजनिक गरी सरकारलाई दिएको थियो।अन्नपूर्णबाट































प्रतिक्रिया