दार्चुलाको त्रिदेशीय सीमामा सरकारी कार्यालय स्थापना गर्नु पर्ने माग

दार्चुलाको त्रिदेशीय सीमामा सरकारी कार्यालय स्थापना गर्नु पर्ने माग

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

त्रिदेशीय सीमा क्षेत्र रहेको व्यासस्थित छाङ्गरु र तिङ्करमा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग उठ्न थालेको छ । सामरिक महत्वको व्यास गाउँपालिका–१ मा सरकारी कार्यालयको स्थापना गर्नु पर्ने माग उठेको हो ।

भारतले कालापानी क्षेत्रमा अतिक्रमण गर्न थालेपछि अहिले यो क्षेत्रमा नेपालको बलियो उपस्थिति हुनु पर्ने आवाज उठ्न थालेको हो । सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले आफ्नै भूमि भएर गाउँ जाने सपना बल्ल पूरा हुने आशा पलाएको भन्दै थप यस क्षेत्रमा सरकारको बलियो उपस्थितिको पर्खाई रहेको उल्लेख गरे ।

“छाङ्गरु र तिङ्करवासीको वर्षौंको सपना पूरा हुने क्रममा छन्”, उनले भने । व्यासीको सपना पूरा गर्ने क्रममा रहको भन्दै नेपाल सरकारलाई उनले धन्यवाद दिएका छन् । यो क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरीको उपस्थिति भएको छ । छाङ्गरुको गागामा गत वैशाख ३१ गते बोर्डर आउट पोष्ट स्थापना गरिएको हो ।

“अब यो क्षेत्रमा सीमा प्रशासन कार्यालय, भन्सार कार्यालय र भेटनरी कार्यालय स्थापना हुनु जरुरी छ”, प्रदेशसभा सदस्य बोहराले भने, “यी कार्यालय स्थापनाका लागि सरकारसँग विशेष ध्यानाकर्षण गराउँछु ।” सामरिक महत्व बोकेको अपि नाम्पा संरक्षण क्षेत्र, त्रिदेशीय नाका र धार्मिक हिसाबले यो क्षेत्र निकै प्रभावकारी रहेको भन्दै सरकारले यो क्षेत्रको विकास निर्माणमा चासो दिनुपर्ने व्यासीको माग छ ।

व्यासको छाङ्गरु र तिङ्करमा द्वन्द्वकाल अघिसम्म रहेका सरकारी कार्यालय पुनःस्थापना आवश्यक रहेको व्यासीको भनाइ छ । द्वन्द्वकाल अघिसम्म सीमा प्रशासन कार्यालय, छोटी भन्सार कार्यालय व्यासमै थिए । अहिले भन्सार कार्यालय पुनःस्थापना गरिएको छैन भने सीमा प्रशासन जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको छ ।

व्यासमा रहेका दुवै विद्यालय अहिले बन्द छन् । यी विद्यालय अहिले सदरमुकाम खलङ्गामा सञ्चालनमा छन् । स्वास्थ्य चौकी र वडा कार्यालय छ महिना व्यास र छ महिना खलङ्गा झर्ने गरेका छन् । स्वास्थ्यकर्मीको बाह्रैमास उपस्थिति हुने भएपछि स्वास्थ्य चौकी पनि व्यासमै आवश्यक हुने व्यासका स्थानीय जहेन्द्र ऐतवालले बताए ।

उनले भने “राज्यले अब केही सरकारी कार्यालय बाह्रैमास बस्ने गरी व्यवस्थापन गर्नुपर्छ, यो नाका तिङ्कर हुँदै चीनसँगको सिधा व्यापार हुने क्षेत्र हो, कैलाश मानसरोवर जाने धार्मिक मार्ग, अपिहिमाल, कैलाश गुफा, वन्यजन्तु तथा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण क्षेत्रकारुपमा यो क्षेत्र छ ।”

यो क्षेत्रमा नेपाल प्रहरीका दुई चौकी, सशस्त्र प्रहरीको बीओपी स्थापना भइसकेको छ । व्यासमा सशस्त्र प्रहरीको गुल्म राख्ने तयारी शुरु भइसकेको छ । गागामा सशस्त्र प्रहरीको गुल्म रहनेबित्तिकै कालापानी नजिकै कौवा क्षेत्र र तिङ्करको छायालेकमा बीओपी विस्तार गर्न सकिने सरकारी तयारी छ ।

यस्तै अपि नाम्पा संरक्षण क्षेत्रभित्र नेपाली सेनाको समेत उपस्थिति गराउने गरी गृहकार्य शुरु गरिएको छ । संरक्षण क्षेत्र विभागमा व्यासको कालापानी क्षेत्रमा सामरिक महत्व तथा प्राकृतिक स्रोतसाधन, वन्यजन्तुको संरक्षणका लागि नेपाली सेना राख्ने विषयमा छलफल भइरहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत अशोककुमार मेहताले बताए ।

त्रिदेशीय यो क्षेत्रमा बाह्रैमास सञ्चार सुविधा छैन । स्काई टावर छाङ्गरुमा मात्रै छ । यो टावरले तिङ्करसम्म कभरेज गर्दैन । यो पनि छ महिनादेखि अवरुद्ध रहेको छ । नमस्तेको थ्रि जी सेवासहितको टावर राख्ने तयारी भइरहेको टेलिकमका प्रमुख कृृष्णबहादुर गुरुङले बताए। व्यासमा नमस्ते टावर राख्ने गरी सर्वेक्षणको काम सकिएको उनले जानकारी दिए। बन्दाबन्दीका कारण थप जडान र अन्य काम अघि बढ्न नसकेको हो ।

पत्रकार महासङ्घका अध्यक्ष शङ्करसिंह धामी सञ्चारविहीन व्यासमा सीमा प्रशासन, भन्सार कार्यालय स्थापना गर्नुपर्ने बताउँछन् । अहिले खाद्यान्न, बाटो घाटो, सञ्चार भवन, खानेपानी र विद्युत् अभाव हुँदा पनि राज्यले उपस्थिति जनाएर सीमा रक्षामा खटिएको भन्दै सुरक्षाकर्मीको उनले प्रशंसा गरेका छन् । उनले भने, “दार्चुलाको व्यासक्षेत्र र यस्तै भौगोलिक विकता भएका देशको अन्य भूगोलमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आगामी बजेटमा प्रोत्साहन गर्नुपर्छ ।”रासस

Logo