भक्तपुर । भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएसँगै उनी बस्ने बस्ती सिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब संकलन गरी जनप्रतिनिधि, सरसफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ देखिएपछि शनिबार बिहान प्रहरीको टोलीले जनप्रतिनिधि बस्ने बस्ती र सो बस्ती आसपासको मालपोत कार्यालय क्षेत्रका १८ घर सिल गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
संक्रमित महिला मटुरोगको बिरामी समेत रहेकाले उनलाई हाल पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित महिला जनप्रतिनिधिकै वडा कार्यालयमा काम गर्ने सचिवको आरडीटी पोजेटिभ देखिए पनि पीसीआर भने नेगेटिभ आएको छ । महिला जनप्रतिनिधिसँगै भक्तपुरको स्थानीय समुदायमा दुई र बाहिरी जिल्लाबाट आएर बस्ने दुई गरी चार जनामा संक्रमण पुष्टि भएको छ ।
जनप्रतिनिधिमा नै कोरोना भाइरस संक्रमाण् फैलिएपछि भक्तपुर नगरपालिका जोखिम क्षेत्रमा परेको छ । भक्तपुर नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका बढेकाले अब, लकडाउनलाई कडाइ गर्दै प्रत्येक घरको कम्तीमा एक जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्नेबारे छलफल भइरहेको भक्तपुर प्रमुखका जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
त्यस्तै हेटौंडा अस्पतालमा उपचार गरी काठमाडौं ल्याइएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई ग्राण्डी अस्पतालले बहिरङ्ग सेवा बन्द गर्ने जनाएको छ । यससँगै अस्पतालले चिकित्सक, नर्सलगायत २२ जनालाई आइसोलेसनमा राख्ने निर्णय गरेको अस्पतालका कोरोना विभागका डा. हरिबहादुर खड्काले जानकारी दिए । यसबाहेक अस्पतालका १ सय ५५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्ने जनाइएको छ ।





























प्रतिक्रिया