काठमाडौं ।
भारतले नेपाली भूभाग लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक सञ्जाल विस्तार गरेपछि चुलिएको सीमा विवाद तत्कालै साम्य नहुने देखिएको छ । पछिल्लो समय पर्साको पश्चिमी क्षेत्र ठोरी र पूर्व पाँचथरको फालेलुगं गाउँपालिकामा सीमा विवाद देखा परेको छ ।
सीमा विवादसँगै पर्साको ठोरी गाउँपालिका ३ ले विकास बजेटबाट छुट्याएर सीमामा काँडेतार लगाइरहेको छ । यद्यपी भारतीय पक्षको अवरोधका कारण काँडेतार अभियानले पूर्णरुपमा सफलता पाएको छैन ।
ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको करिब ५ किलोमिटरको दूरीमा दशगजा क्षेत्र छोडेर काँडेतार लगाएको जानकारी दिए । चैत ११ को लकडाउन यता मात्रै १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । तर भारतीय पक्षले एकाएक अवरोध गरेपछि बाँकी ३ सय मिटर काँडेतार लगाउने काम हाल रोकिएको छ । सीमा विवादकै क्रममा भारतीय पक्षसँग पटक पटक विवाद भएकाले ८ वर्ष यता भारतिय जमिन नटेकेको रोचक पक्ष पनि वडाध्यक्ष लामाले सुनाए । सीमावर्ती सबै जनप्रतिनिधिले आफ्नो भूभागमा तारबार लगाए सीमा विवाद सुल्झिने लामाको भनाइ छ ।
उता दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरुमा पहिलो पटक बिहिवारदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ । टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो । सीतापुलको नेपालतर्फको भूभागमा नियमित ड्यूटीमा टोली परिचालन हुने सीमा निगरानी चौकी (बीओपी)का प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले बताए । उनका अनुसार उक्त बिओपीले छाङरु, कौवा, टिंङ्कर, बुदी, नितिकुण्डा लगायतको क्षेत्रका सुरक्षा गर्नेछ ।
सरकारले गत बुधबार त्यहाँ सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको थियो । दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङरुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको छ ।
यता भारतले पूर्वको पाँचथरस्थित सिमावर्ती फालेलुगं गाउँपालिका वडा नम्बर ६ सन्तकपुर आहालगैह्री क्षेत्रको नेपाली भुमिमा आधिपत्य जमाएको छ । पछिल्लो समय सार्वजनिक भएको नक्सा बमोजिम सीमा क्षेत्रको उक्त नेपाली भूमि भारतमा परेकोले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको स्थानीयको भनाइ छ ।
एसएसबीले कब्जा जमाएपछि गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुगंको टोलीले गत मंगलबार वार्ता गरेको थियो तर माथिको निर्देशन बमोजिम नै सीमाक्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबी कमान्डर रिक्सल कुमारले बताएका थिए ।
एसएसबीले कब्जा गरेको भनिएको उक्त क्षेत्रमा संग्रहालय बनाउन डिभिजन बन कार्यालय पाँचथरले बन उपभोक्ता समितीलाई १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । उक्त स्थानमा स्थानिय नेपाली नागरिक पिंकी शेर्पाले होटल र पेम्बा छिरिगंले गोठ संचालन गरेका छन् । होटल र गोठ पनि हाल एसएसबीकै नियन्त्रणमा छन् ।





























प्रतिक्रिया