प्रदेश नं १ बाट थप दुई जना कोरोना सङ्क्रमित निको भई घर फर्किए

प्रदेश नं १ बाट थप दुई जना कोरोना सङ्क्रमित निको भई घर फर्किए


विराटनगर ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आइतबार साँझ निको भई घर फर्किएका छन् । घर फर्कनेमा भोजपुर जिल्ला हतुवागढी–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।

यसअघि केन्द्रबाट सङ्क्रमितहरु वैशाख २४ गते ६ जना र २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पिसिआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताइन् ।

राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताए भने झापा बाह्रदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको जानकारी दिए । दुवै जनाले अस्पतालको निर्देशन अनुसार आफ्नो गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन बस्ने बताए ।

अस्पतालबाट ‘डिस्चार्ज’ भएका दुवै जनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापन समिति संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरेका थिए ।

केन्द्रबाट सङ्क्रमित निको भएका दुईजना गरी जम्मा घर फर्कनेको सङ्ख्या १६ पुगेको छ । केन्द्रमा शनिबार तीन र आइतबार एक गरी जम्मा १९ जना सङ्क्रमितको उपचार भइरहेको सुपरिटेन्डेन्ट डा मिश्राले बताइन्।रासस

Logo