कोरोना अपडेटः विश्वभर २ लाख ८० हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ८० हजारको मृत्यु


जेनेभा ।

कोरोना भाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४८ हजार मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ४१ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ५८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४२२ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार पुगेको छ । कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९४, स्पेनमा १७९ र फ्रान्समा ८० जनाको ज्यान गएको छ ।

चीनमा १४ जना नयाँ संक्रमित
कोरोनाको उद्‍गमस्थल चीनमा १४ जना संक्रमित भेटिएका छन् । गत अप्रिल ३ यता वुहानमा पहिलो पटक यति धेरैसंक्रमण देखिएको हो । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार शनिबार वुहानमा एक जनासहित चीनभर १४ जना नयाँ कोरोना संक्रमित देखिएका हुन् ।
रासस–एएफपी

Logo