काठमाडौँ ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकावासी सबैलाई लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
लकडाउन जारी नै रहेका बेला काठमाडौंबाट मजदुर–विद्यार्थी लगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन् । ‘पछिल्लो समय दर्जनौं गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँ भित्र नागरिक पठाएका समाचार सञ्चार माध्ययमबाट निरन्तर आउन थालेका छन्,’ उनले भने, ‘विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ । यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन ।’
प्रमुख शाक्यले सबै जिल्ला र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र अन्यत्रका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।
‘काठमाडौंबासी एक जनालाई बाहिर जानु भनेर अनुमति दिएको छैन । साथै, उपत्यका बाहिरका नागरिकलाई पनि लकडाउन अवधिभरी आउनु भनेर एक जनालाई पनि अनुमति दिएको छैन,’ प्रमुख शाक्यले भने, ‘केही दिन अघि मात्रै सम्पन्न उपत्यका नगरपालिका फोरमको बैठकले पनि संयुक्त विज्ञप्ति नै निकालेर उपत्यका छाडी सयौं किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःख कष्ट भोगिरहेका समाचार निरन्तर आएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।’
लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई खाद्यान्न वितरण तथा अन्य प्रयास गरिरहेको भन्दै प्रमुख शाक्यले उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस् भनेर राहत वितरणलाई निरन्तरता दिएको स्मरण पनि गराएका छन् ।
‘लकडाउन अहिले पनि जारी छ । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ उनले भने, ‘मैले निरन्तर भन्ने गरेको छु, कोही भोकै परेको जानकारी सञ्चार माध्ययमका साथीहरु र अन्यले पनि देख्नुभयो भने उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री नं. ११८० र ११३१ मा जानकारी दिनुहोला । जिम्मेवारी लिन हामी तयार छौँ । बाहिरका बासिन्दाको जिम्मेवारी तपाईंहरुले लिइ दिनुहोला ।’
लकडाउनपछि अति विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई अहिलेसम्म काठमाडौं महानगरबाट मात्रै करीब ७४ हजारलाई राहत वितरण गरिएको र अहिलेसम्म काठमाडौँ महानगरबाट मात्रै ४९ हजार बढी प्लेट खाना खुवाएको महानगरले जानकारी दिएको छ ।





























प्रतिक्रिया