राजधानी काठमाडौँमा अहिले तरकारीको मूल्य बढेको छ । ताजा तरकारी नपाउने समस्या त छदैछ, मनलाग्दो मूल्यका कारण राजधानीवासीको भान्छा दिनहुँ महंगिदै गएको छ ।
काठमाडौँलगायत शहरका उपभोक्ताहरू तरकारीको बढ्दो मूल्यका कारण तनावमा छन् भने तरकारीको पकेट क्षेत्र मानिने मकवानपुरको थाहानगरपालिकास्थित टिष्टुङका कृषकहरू भने तरकारी बेच्न नसकेर तनावमा छन्।
त्यहाँ अहिले दैनिक ५० टन काउली उत्पादन भइरहेको छ । बन्दा, मुला, मटरकोसा लगायतका तरकारीहरु पनि ठूलो मात्रामा उत्पादन भइरहेको छ । तर दैनिक १० टन पनि तरकारी निकासी भइरहेको छैन । कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण ती तरकारीहरु खेतवारीमै कुहिन थालेका छन् ।
तरकारीले बजार नपाउँदा कृषकहरुले ठूलो क्षति व्यहोर्ने अवस्था आएको बताउँछन् मन्जिल नमुना कृषि फर्मका संचालक मुक्तिनाथ उप्रेती । उनले यस वर्ष ५ लाख रुपैया लगानी गरेका छन् । नाफा घाटा जे भने पनि उत्पादित तरकारी बिक्रि गर्न पाए हुने बताउँछन् उप्रेती।
अर्का कृषक राजभाइ श्रेष्ठले पनि तरकारीले बजार नपाउँदा लगानी डुब्ने अवस्थामा पुगेको बताए । टिष्टुङ बज्रवाराही क्षेत्रमा मात्रै यो सिजनमा १० लाख किलो काउली, ८ लाख किलो बन्दा, ५ लाख किलो मुला, ३ लाख किलो केराउ उत्पादन हुने वडा कार्यालयको आंकलन छ । तरकारी उत्पादन हुने सिजनमै कोरोनाभाइरसको संकट आइपरेपछि कृषकहरु ठूलो समस्यामा परेको थाहा नगरपालिका ६ का वडाध्यक्ष शशिधर सुवेदीले बताए ।
एक हजार घरधुरी भएको यो वडामा मात्रै ९ सय भन्दा बढी कृषक छन् । विगतमा वर्षहरुमा यहाँका कृषकहरुले यो सिजनमा मात्रै ४ देखि ५ लाख रुपैंयासम्म आम्दानी गर्दै आएका थिए । गत वर्ष यहाँका कृषकले ६० प्रतिशत आलु र ४० प्रतिशत अन्य तरकारी लगाएका थिए । तर, गत वर्ष अन्य तरकारीले राम्रो बजारभाउ पाएपछि यहाँका कृषकहरुले यो वर्ष ३० प्रतिशत मात्रै आलु लगाएर ७० प्रतिशत अन्य तरकारी लगाएका थिए ।
उत्पादनले बजार नपाएपछि ऋण लिएर तरकारीमा लगानी गरेकाहरु ठूलो समस्यामा परेका छन् । उनीहरुले स्थानीय निकायसँग तरकारी विक्रिका लागि पहल गरिदिन माग गरेपनि सम्बोधन हुन नसकेको बताएका छन् । क्षतिको आधारमा राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ ।
सरकारले राहतको कार्यक्रम ल्याईदिए कृषकहरु हतोत्साही नहुने वडाध्यक्ष सुवेदी बताउँछन् । उनले उत्पादनको विवरण संकलन गरी प्रदेश सरकारसँग समन्वयका लागि पहल भइरहेको बताए ।
बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी बाली विकास अधिकृत रचना देवले कृषिजन्य वस्तुको विक्रि वितरणमा उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गरी एग्री प्रोडक्ट म्यारिज ब्यूरो को सेवा सुरु भएको जानकारी दिइन् । उनले कृषकहरुलाई कुनै समस्या परेमा मन्त्रालय अन्तर्गतको कल सेन्टर, म्यारिज ब्युरो र वृहत प्रशोधन केन्द्रसहित आधुनिक कृषि बजार स्थापना समितिलाई सम्पर्क गर्न सकिने बताइन् ।

यहाँको तरकारी राजधानी काठमाडौंसहित, हेटौंडा, नारायणगढ, पोखरा, वीरगंज, बुटवल, लहानलगायतका बजारमा विक्रि वितरण हुँदै आएको छ । तर अहिले समन्वयको अभावमा काठमाडौं र हेटौंडावाहेक अन्यत्र निकासी हुन् सकेको छैन ।
प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट





























प्रतिक्रिया