काठमाडौं ।
लामो समयको लकडाउनका कारण राजधानीमा बस्न नसकेको भन्दै सयौं किलोमिटरको बाटो हिंडेरै घरतर्फ जाने नागरिकका लागि विभिन्न जिल्ला र स्थानिय प्रशासनहरुले उनीहरुलाई गन्तव्यमा पुर्याउन थालेका छन् ।
केहि दिनदेखि विभिन्न संचार माध्यममा नागरिकहरु अलपत्र परेका समाचारहरु आएपछि सर्वोच्च अदालतले समेत सरकारका नाममा स्थानीय तहसँग समन्वय गरी त्यस्ता नागरिक गन्तव्यमा पठाउन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको सो आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित जिल्ला र स्थानिय सरकारले अलपत्र परेका र घर जान चाहनेहरुलाई गन्तव्यमा पुर्याइदिन निर्देशन दिएपछि विभिन्न जिल्लाहरुले अलपत्र परेका नागरिकहरुलाई एकै ठाउँमा भेला गराई सुरक्षा दिएर गन्तव्यसम्म पुर्याउन थालेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले गाउँ फर्कन भनेर हिँडेर बाटोमा अलपत्र परेका व्यक्तिलाई निःशुल्क यातायात व्यवस्था गरी गन्तव्यमा पु¥याउन र शंकास्पदलाई क्वारेन्टाइमा राख्न शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । जनहित संरक्षण मञ्चका तर्फबाट बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले पैदल यात्रुको सुरक्षित तरिकाले घर जाने आदेशको माग गर्दै रिट निवेदन दायर गरेपछि सर्वोच्चको सो आदेश आएको हो ।
यसरी नागरिकहरुलाई गन्तव्यमा पठाउने क्रममा शनिबार इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाको समन्वयमा काठमाडौंबाट घर हिंडेका २५० जना भन्दा धेरै यात्रीहरुलाई गन्तव्यमा पुर्याइएको छ । काठमाडौंबाट विपी राजमार्ग र अरनिको राजमार्ग हुँदै घर हिंडेका पैदलयात्रीलाई गणेश हिमाल प्रा.लि.का अध्यक्ष आत्माराम थापाले बस ब्यबस्था गरेका थिए ।
लकडाउनको २५ दिनसम्म पैदलयात्रीको कमी नभएपछि प्रहरी निरिक्षक तिमल्सिनाले बस व्यवसायीहरूसँग समन्वय गरी अरनिको राजमार्गतर्फ दोलालघाट र विपी राजमार्ग अन्तर्गत सिन्धुली र बर्दिबाससम्म पुर्याउने व्यवस्था गरेका हुन् । बनेपाको बसपार्कमा जम्मा गरि खाना , खाजा दिएर बेलुका उनीहरुलाई गन्तव्यमा पु¥याइएको हो । बनेपामा जम्मा भएका पैदलयात्रीहरूलाई नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुधिर बैद्यले बाटोका लागि खाजा र खानाको व्यवस्था गरेका थिए भने दिउसोको खाजा नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश वादेले व्यवस्था गरेका थिए ।

यस्तै थानकोट नाकाहुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ । लकडाउनका कारण हिडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो । हिंडेर जाने नागरिकलाई दिउसोभर सो क्याम्पमा राख्ने र बेलुकी भएपछि उनीहरुको गन्तव्यमा पठाइदिने गरेको छ । शनिबार करिव ३ सय नागरिकलाई यसरी नै गन्तव्यमा पठाइएको छ ।
यता धादिङको थाक्रे गाउँपालिकाले पनि स्थानीय युवाको सक्रियतामा महादेवबेँसीमा ५०० मजदुरलाई खाजा र पानी खुवाएको छ । गजुरी गाउँपालिकाले आदमघाटमा १५० मजदुरलाई खाना खुवाएको छ भने पैदलयात्री ३०० मजदुरलाई खाना र खाजा खुवाएको छ । गजुरी बजारमा पनि गजुरी गाउँपालिकाले एक साता अघिदेखि पैदलयात्री मजदुरलाई खाजाको व्यवस्था गर्दै आएको थियो । यसबाट करिब ४०० मानिसले खाजा खाएको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गानाले जानकारी दिइन् ।

चितवनको इच्छाकामना गाउँपालिकाले पनि विभिन्न जिल्लाबाट घर जान आएका मजदुरको उद्धार गरेको छ । सो गाउँपालिकाले गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाउन थालेको छ । राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन सय भन्दा बढीलाई गन्तव्यतर्फ पठाइएको गाउँपालिकाले जनाएको छ ।

यस्तै धादिङबाट सर्लाहीको लालबन्दी नगरपालिकासम्म जानको लागि हिँडेका पैदलयात्रीलाई मकवानपुरको थाहा नगरपालिकाले पनि यातायातको व्यवस्था गरेको छ । उनीहरुलाई मकवानपुर जिल्ला सीमाना चुरियासम्म यातायातको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई तीनवटा गाडीमा राखेर पठाइएको हो । चुरियामाईदेखि भने घरघरसम्म पु¥याउनको लागि लालबन्दी नगरपालिकाले गाडी पठाएको थियो । घर जान हिँडेका १०१ जना वैशाख ५ गते साँझ थाहा नगरपालिका ९ चित्लाङ पुगेका थिए । १६ जना बालबालिकासहित आएका उनीहरुलाई बेलुकीको खाना र बासको व्यवस्था थाहानगरले गरेको थियो । उनीहरु धादिङ जीवनपुरको विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुरहरु भएको बताइएको छ।





























प्रतिक्रिया