काठमाडौं ।
लकडाउनको १९ औं दिन शनिबार पनि राजधानीका सडकहरु सुनसान देखिएका छन् ।
चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण राजधानीका सडक सुनसान भएका हुन् । अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य चलेका छैनन् । रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन् । ठाउँ-ठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ ।

नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लकडाउन घोषणा गरिएको थियो । यस अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउन थप गरेको छ ।
सरकारले दोस्रो पटक २५ गतेसम्मका लागि समय थप गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रो पटक गत सोमबार बैशाख ३ गतेसम्म लकडाउनको अवधि थपेको छ । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ ।





























प्रतिक्रिया