काठमाडौं ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरेको तेस्रो हप्ता सुरु हुँदासम्म काठमाडौं उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामको बाहानामा लकडाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ । राजधानीमै संघीय सरकारले घोषणा गरेको लकडाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता निकै सजग र सचेत देखिन्छन् ।

काठमाडौं बाहिर सामाजिक दुरी कायम गर्दै लकडाउनको पूर्णपालना भएको देखियो । राजधानी काठमाडौंबाट स्थलगत रिपोर्टिङका लागि बन्दिपुरसम्म पुग्दा राजमार्ग सुनसान देखिन्छ । ग्यास, खाद्यान्न बोकेका केही गाडीहरु चलेपनि राजमार्ग वरिपरिका होटलहरु बन्द छन् । त्यती मात्रै होइन राजमार्ग वरिपरिका घर अगाडी तारबार नै गरिएको छ । कोरोना विरुद्ध लड्न स्थानीय कति सचेत भएर अगाडी बढिरहेका छन् भन्ने कुराको प्रमाण यो दृश्यले देखाउँछ ।

स्थानीयहरुले हाम्रो क्यामेराको अगाडी खुलेर कुरा गर्न नचाहेपनि सामाजिक दुरी कायम गर्नकै लागि तारबार गरिएको बताए । राजमार्गमा खाद्यान्न, डिजेल, पेट्रोल तथा ग्यास बोकेका र अन्य मालबाहक सवारी सञ्चालन भइरहेका छन् ।

स्थानीय-स्थानीयहरुले मात्रै होइन गाउँ-गाउँबीच पनि सामाजिक दुरी कायम गरेको दृश्य देखिन्थ्यो । एक गाउँबाट अर्को गाउँमा अनावश्यक रुपमा कोही आवत जावत नगरुन भनेर पुलमा बार लगाइएको छ । सूचना टाँस गरेर नै एक ठाउँबाट अर्को ठाउँमा अनावश्यक रुपमा आवतजावत नगर्न भनिएको छ । सूचनामा लेखिएको छ, ‘‘यस वुटार चुमरखेल जोड्ने पुलमा अत्यावश्यक र भैपरी आउने समस्या बाहेक आवत जावत गर्न पाइने छैन, किराना पसलमा सामान खरिद गर्द एकमुष्ट खरिद गर्ने र पटक पटक हिडडुल नगर्ने, लकडाउनको पूर्ण पालना गर्ने, सार्वजनिक स्थल पूर्ण रुपमा सफा गर्ने र कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्ने । ’’

सरकारले घोषणा गरेको लकडाउनको भोलिपल्टदेखि नै पुल बन्द गरिएको गण्डकी गाउँपालिका २ दहभञ्ज्याङका स्थानीय गगनबहादुर थापाले बताए । सो पुल भएर फुजेल, साधिखोला, ताँग्रीचोक, दहभञ्ज्याङ, फुर्केडाँडा लगायतका गाउँमा पुग्न सकिने उनको भनाइ छ । अत्यावश्यक काम र दैनिक उपभोग्य सामान किन्नका लागि मात्रै पूल खुल्ने गरेको उनको भनाइ छ ।






























प्रतिक्रिया