‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’ : सर्वोच्च

‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’ : सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो ।

“नेपाल आउन इच्छुक नागरिकलाई कूटनीतिक माध्यमबाट समन्वय गरी ल्याउने व्यवस्था गर्नू”, आदेशमा भनिएको छ, “कार्य तत्काल सम्भव नभए निजहरुलाई तत्स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरुको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू ।”

आदेशमा सीमाका नागरिकलाई फर्काउन सम्भव नभए गाँसबास र उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई पनि ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनमा रहेकाहरूलाई स्वास्थ्योपचार लगायत व्यवस्था गर्न आदेशमा भनिएको छ ।

अदालतले विदेशमा रहेका नेपालीको प्रवेशाज्ञा समाप्त वा राहदानीको म्याद समाप्त भएका कारणबाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिक रहेको मुलकसँग समन्वय गरी नेपालीलाई विदेशको बसाइ नियमित गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।

अधिवक्ता माधवकुमार बस्नेत, मीना खड्का, मनीषकुमार श्रेष्ठलगायतले सीमानाकामा रहेका नेपाली र विदेशमा भएर नेपाल आउन चाहने नेपालीलाई आउन दिन आदेशमा माग गर्दै दायर गरेको रिट निवेदनमा अदालतले सो आदेश जारी गरेको हो ।रासस

Logo