राहतको लाइनमा हुँदा खाने भन्दा बढी हुने खानेहरू (भिडियोसहित)

राहतको लाइनमा हुँदा खाने भन्दा बढी हुने खानेहरू (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

भक्तपूर ।
लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ ।

हातमा आइफोन बोकेका, औँलामा सुनका औंठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उनले राहत लिने आधाजति हुनेखाने नै भएको बताए ।

भूकम्पमा बरु पीडितको पहिचान भएर सजिलो भएको तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५ सय घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवारलाई दिनुपरेको बताउँदै उनले सरकारी जागिरे भएकादेखि विदेशमा बस्नेहरुका परिवारसमेत राहत लिन आएको बताए ।

भक्तपुर नगरपालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन । त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नै नभएका हुनेखानेहरु राहत लिने सूचीमा वडाबाट आएको बताए । हेरौं भिडियोमा :

Logo