काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो । औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो ।
राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पु¥याएर सहजता प्रदान गरेपनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए । अहिले एचआईभीसँग सम्बन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घर घरमा औषधी पु¥याउन थालेपनि एक स्थानीय निकायदेखि अर्कोमा जान बन्द गर्ने निर्णय सँगै भने समस्या आउन सक्ने उनको भनाई छ ।
हाल देश भर १८ हजार ५५५ जना एआरटी लिनेको संख्या रहेको छ । समाजमा विद्यमान कुरीती र कुप्रथा एवं सामाजिक रुपमा ब्याप्त पुरानो विचार धारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधी लिनेहरुमा समस्या देखिएको छ । यद्यपी महासंघले आपसी समन्वयमा सम्बन्धि जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरि तत्काल समस्या समाधान गरिरहेको छ ।
एचआइभी संक्रमितले लिदै आएको औषधी एआरटीको स्टक दुई महिनाको लागि मात्र रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ ।
काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४५० जनाले औषधि लिंदै आएका छन् । ठूलो संख्यामा औषधी लिने एकै मात्र एआरटी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट औषधी लिनेहरुको घर घर औषधी पु¥याउने काम भई रहेको छ । हाल देश भर ८० वटा एआरटी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधी लिदै आएका छन् । यस्तै देश भरमा १ हजार ३५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन् ।































प्रतिक्रिया