नौ सय व्यक्तिको भीडमा सङ्क्रमितको २८ घण्टा बास

नौ सय व्यक्तिको भीडमा सङ्क्रमितको २८ घण्टा बास

केन्द्रबिन्दु
0
Shares

धनगढी ।
भारतबाट फर्किएका ९१४ जनाको भीड चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न भने पाएन ।

नेपाल–भारत सीमा नाका बन्द गरिएकोले सुरक्षा निकायले उनीहरुलाई सीमानामै रोक्यो । नाकामै रात कटाएका नेपालीले चैत ११ गते विहानै नारा जुलुस गरे । उनीहरुको भीड जबरजस्ती नेपालतर्फ अगाडि बढेपछि सुरक्षाकर्मीले सामान्य बलसमेत प्रयोग गर्नुप¥यो । र, त्यो भीड पछाडि हट्यो ।

झन्डै २८ घण्टा नाकामै रोकिएको भीडमा सुदूरपश्चिम प्रदेशको मात्रै नभई अरु प्रदेशका गरी १९ जिल्लाका ९१४ जना थिए । त्यही भीडमा थिए, कैलालीको लम्कीका २१ वर्षीय युवा । जसलाई कोरोना पोजेटिभ रहेको शनिबार मात्रै पुष्टि भएको छ । मुम्बईबाट घर फर्किएका उनलाई १३ दिनपछि कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो । भारतबाट फर्किएका विभिन्न जिल्लाका व्यक्तिहरुसँग उनले नाकामा झन्डै २८ घण्टा बिताएका थिए।

नाकामा अलपत्र परेका उनीहरुलाई सङ्घीय सरकारको आदेशपछि चैत ११ गते १० बजे रातिमात्रै गन्तव्यतर्फ पठाइएको थियो । शनिबार कोरोना सङक्रमित पुष्टि भएको व्यक्तिले नाकामा ठूलो भीडको बीचमा एक रात एक दिन बिताएको कैलाली प्रहरीले पनि पुष्टि गरेको छ । यो तथ्य बाहिरिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको खतरा र त्रास झनै बढेको छ ।

सङ्क्रमित व्यक्तिसँगै भीडमा रहेका व्यक्तिहरु विभिन्न जिल्लाको कुना–कुनासम्म पुगिसकेका छन् । उनीहरु सबैलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने आदेश दिइएको थियो । तर, सबै व्यक्ति क्वारेन्टाइनमा नरहेको बताइन्छ । गौरीफन्टा नाकाबाट प्रवेश गरेका सङ्क्रमित व्यक्तिलाई लम्कीचुहा नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । उनलाई चैत १२ गते क्वारेन्टाइनमा राखिएको जनाइएको छ । सो विद्यालयको क्वारेन्टाइनमा ४४ जना र सङ्क्रमित युवासँगै एउटै कोठामा थप तीन जनालाई पनि राखिएको लम्कीचुहा नगरपालिकाका नगर स्वास्थ्य संयोजक जयन्ती बिसीले बताइन् ।

उनका अनुसार संक्रमित पुष्टि भएका युवालाई लक्षण देखिएपछि शनिबार विहानमात्रै चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको हो । मुम्बईबाट फर्किएका ती युवामा कोरोना पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सङ्क्रमित पुष्टि भएका युवासँग बसेका थप अरुलाई पनि चेकजाँचका लागि ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका फोकल जयसिंह भण्डारीले जानकारी दिए।गोरखापत्रबाट

Logo