हेटौंँडा ।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताए ।
उनले त्यहीँ स्वाब संकलन गरेर त्यहीं परीक्षण गर्ने र संक्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिएको बताए । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गरे । संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ ।
मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गरे ।
पालमा मन्त्रिपरिषद् बैठकः स्थानीय तहमा सहयोग गरिने
यसैबीच कोभिड १९ का कारण वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक आइतबार पालमा बसेको छ । सभाकक्षमा बैठक बस्दा भौतिक दूरी कायम गर्न समस्या पर्ने भएकाले पालमै बैठक बसेको जनाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेल निवास चौकीटोल हाइटमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ । मन्त्रिपरिषद बैठकबाट कार्यविधि पारित भएसंँगै स्थानीय विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने बाटोसमेत खुलेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।
यस्तै विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका विपद् व्यवस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिमा बनेको समितिलाई पाँच लाख दिने निर्णय पनि भएको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार, आइसोलेशन तथा क्वारेन्टाइन निर्माण, चिकित्सा सामग्री खरीद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सकिने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।रासस































प्रतिक्रिया