सिन्धुपाल्चोक ।
इन्द्रावती र हेलम्बु गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । पालिका प्रवेश गर्ने स्थानमा पैदल यात्री र सवारीसाधनबाट आएका यात्रुको तापक्रम परीक्षण गर्ने गरेको हो ।
इन्द्रावती गाउँपालिकाको गाउँ क्षेत्रमा टेक्ने जो कोहीलाई स्वास्थ्यकर्मीले साबुनपानीले हात धुन लगाउँछन् । त्यसपछि ‘इन्फारेट थर्मोमिटर’ बाट तापक्रम मापन गरेपछि मात्रै इन्द्रावती गाउँपालिकामा ‘हजुरहरुलाई स्वागतम्’ भन्दै गर्दै कोरोनाबारे सचेतना दिइन्छ ।
इन्द्रावतीमा आउने जो कोही र गाउँपालिकाबाट दिइने प्रत्येक सेवा लिनु अघि कोरोना परीक्षण गरेर मात्रै आउन दिइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए। “गाउँपालिकाभर कोरोना सचेतना दिएर स्वास्थ्यकर्मीसँग आफैं खटिरहेका छौं, यसबाट पूर्वसावधानी अपनाउन जुटिरहेका हौं,” नवलपुर बजारमा आफैं सचेतना कार्यक्रममा खटिरहेका उनले बताए । गाउँपालिकाभर साबुनपानीले हात धुँदै कोरोनाबारे सचेत रहन अनिवार्य गरेर दुईवटा ‘इन्फारेट थर्मोमिटर’ बाट धमाधम तापक्रम परीक्षण गरिरहेको छ ।
सिम्पाल काभ्रे, कुन्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे, भोटसिपा, भीमटारसम्म आफैँ स्थलगत पुगेर कोरोना सचेतना गर्न जनप्रतिनिधि एकजुट भएर लागिरहेका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार हेलम्बु प्रवेश गर्ने स्थानमा यात्रुको तापमान गरिएको हो । स्वास्थ्यकर्मीको सहायताबाट ज्यरो नाप्दै हात धुन सिकाउने गरेको उनले बताए। गाउँभर कोरोनाबारे जनचेतना अभियानसमेत शुरु गरिएको उनको भनाइ छ ।रासस





























प्रतिक्रिया