अस्पतालमा मौसमी फ्लुका बिरामी दोब्बरले बढे

अस्पतालमा मौसमी फ्लुका बिरामी दोब्बरले बढे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ । मौसम परिवर्तन हुन लागेको यो समयमा मौसमी फ्लुको संक्रमण बढी नै हुन्छ। त्यस्तो फ्लुको लक्षण देखियो कि बिरामी कोरोना संक्रमण भन्दै अस्पताल आइपुग्ने गरेको चिकित्सकले बताएका छन् ।

विगतका तुलनामा यसपटक मौसमी फ्लुका दोब्बर बढी बिरामी अस्पताल आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा शेरबहादुर पुनले बताए । ‘विगतमा मौसमी फ्लुका बिरामी घरैमा उपचार गर्थे, निको नभएपछि मात्र अस्पताल पुग्थे। यो पटक रुघाखोकी लाग्यो कि कोरोनाका डरले अस्पताल आइहाल्छन्’, उनले भने। उनीहरुलाई परामर्श तथा सुझाव दिएर पठाउने गरेको र जटिल समस्या भए पुनः अस्पताल आउन सुझाव दिने गरेको पुनले बताए।

त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभागमा उपचार गर्न पुगेका बिरामीमध्ये ५० प्रतिशतमा कोरोना त्रास रहेको मेडिसिन विभागका श्वासप्रश्वास रोग विशेषज्ञ डा. निरज बमले बताए । विभागमा सातामा उपचारका लागि पुग्ने कुल ४ सय बिरामीमध्ये ३५ प्रतिशत मौसमी फ्लुका बिरामी छन् । ‘उनीहरु एकैछिन खोकी लागेकै भरमा कोरोना भयो कि भन्ने त्रासमा उपचारमा आएको देखिन्छ’, डा. बमले भने ।

यसरी आउने बिरामीलाई सामान्य उपचार र परामर्श दिएर पठाउने गरेको र जोखिम पृष्ठभूमिका व्यक्तिलाई टेकु अस्पताल रेफर गर्ने गरेको उनले सुनाए। अस्पतालले केही दिन अघि फ्रान्सबाट आएका एक व्यक्तिलाई टेकु अस्पताल पठाएको थियो। सामान्य फ्लु भएकालाई पनि घरैमा आइसोलेसनमा बस्न सुझाव दिने गरेको डा. बमले बताए।नागरिकबाट

Logo