काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेसँगै मिर्गौलादाता समीक्षा संग्रौलालाई बधाई तथा धन्यवादको ओइरो लाग्न थालेको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रत्यारोपण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई कसैले महानता, ईश्वरीय काम, प्रमको नयाँ जन्मदाता आदिको संज्ञा दिदै धन्यवाद दिइरहेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई धन्यवाद तथा बधाई भन्दै ट्विट गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामनासहित दानकर्ता संग्रौलालाई बधाई तथा धनयवाद ज्ञापन गरेका हुन् । साथै ज्ञवालीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न सबै चिकित्सकलाई पनि धन्यवाद दिएका छन् ।
प्रदेश नम्बर १ का सांसद उत्तम कुमार बस्नेतले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासँगै मिर्गौला दान गर्ने ओलीका भान्जी संग्रौलालाई धन्यवाद ज्ञापन गरेका छन् । संमृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न ओलीको नेतृत्व आवश्यक रहेको भन्दै ओलीलाई मिर्गौला दिएर ईश्वरीय कर्म गरेकी समीक्षा संग्रौलालाई धन्यवाद दिन चाहान्छु, सांसद बस्नेतले भनेका छन् ।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेसँगै समीक्षाको प्रशंसा तथा धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्रीलाई नयाँ जीवन दिनुभएको छ भन्दै धन्यवाद दिएका हुन् । मिर्गौला दान दिने संग्रौलाका आफन्त तथा चिनजानका साथीभाई मात्र नभई सत्तारुढ दलका मन्त्री, नेता, कार्यकर्ता, शुभचिन्तक तथा सामजिक सञ्जालमा सकृय धेरैले धन्यवाद दिइरहेका छन् ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न अस्पताल पुगेर समीक्षा संग्रौलाले आफ्नो मामा भएर मात्र नभई प्रधानमन्त्रीको देश बनाउने सपना देखेर दान गरेको बताएकी छिन्–‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडेको नेता हो । त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ।’ मिर्गौला दिने ३२ वर्षीया संग्रौला झापाकै हुन् । संग्रौला प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् । समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।
प्रधानमन्त्री ओलीले बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन् । प्रधानमन्त्री ओलीले देशमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेसँगै अरु नेताहरुले पनि ओलीबाट सिक्नुपर्ने भनेर सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आइरहेका छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया