पत्रकार डेकेन्द्र थापाका हत्याका मुख्य आरोपित १५ वर्षपछि पक्राउ

पत्रकार डेकेन्द्र थापाका हत्याका मुख्य आरोपित १५ वर्षपछि पक्राउ


दैलेख।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकजनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमवहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलवार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधिस दण्डपाणी लामिछानेको ईजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी फरार रहेका थिए ।

जिल्ला अदालतका सुचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिती गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्धा जगाई मंगलवार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिए ।

जिल्ला अदालत दैलेखले २०७१ मंसीर २१ गते फरार भनिएका खड्कासहित ४ जनालाई हाजिर भएका वा पक्रिएका वखत वा अवधी पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

२०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए । वि.सं.०६५ मा नौमुले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ स्थित नेरा निमावि नजिकको जंगलबाट पत्रकार थापाको कंकाल फेला परेको थियो ।
हिमाल खबरपत्रिकाबाट

Logo