काठमाडौं ।
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो । हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।
चीर ठड्याईंदा हनुमानढोका गुरुजूको पल्टनले हर्ष बढाईं समेत गरेको थियो । वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराईका जिल्लाहरुमा फागुन २७ गते मनाइदैछ । आपसी मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा रंगीबिरंगी रंग दलेर खुसीयाली मनाउँदै एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ ।
मंगलबार ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पु¥याई दाह गरेपछि होली समाप्त हुन्छ भने त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात हुन्छ ।
यसैबीच कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुन्छ ।
भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ । यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ । सङ्क्रमण फैलिनु अगावै सतर्कता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् ।





























प्रतिक्रिया