अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको सम्बोधन- “भर्खर जागृत सपना अलपत्र पारेर म अलप हुन्नँ” (भिडियोसहित)

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको सम्बोधन- “भर्खर जागृत सपना अलपत्र पारेर म अलप हुन्नँ” (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेर छिट्टै नियमित काममा फर्कने बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानु अघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफू थप उर्जा र आत्मविश्वाससहित फर्किने बताएका छन् ।

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुनेसमेत बताएका छन् । संसारमा केही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जाग्रित हुँदै गरेका सपनाहरुलाई साकार पार्न हो ।’ उनले भनेका छन् ।

उनले आफ्नो स्वास्थलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

सम्बोधनको पूर्णपाठ  

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संघर्षमा वित्दै आएको छ । कहिले निरङ्कुशता विरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । मुलुकमा व्याप्त यस प्रकारका विविध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ ।

यसै सन्दर्भमा, आज भन्दा झण्डै १२ बर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । पर्सी फागुन २१ गते बुधवार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुँदैछु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईहरु सबैले आफूलाई उभ्याउनु भयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं ।

जसरी खेलकोबीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।

म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु । यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छन् ।

विश्वलाई नै पिरोलीरहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु । मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता/कार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।

मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

 

 

Logo