लाखौँका सामान कौडीको भाउमा बिक्री : २ सयमा ल्यापटप, ३३ रुपैयाँमा ग्यास सिलिण्डर !

लाखौँका सामान कौडीको भाउमा बिक्री : २ सयमा ल्यापटप, ३३ रुपैयाँमा ग्यास सिलिण्डर !

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा ।

जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको तथ्य फेला परेको हो । दुई सयमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर बिक्री गरेको छ।

एउटा ल्यापटपको दुई सयका दरले २२ थान ल्यापटप कम्प्युटर मात्र ४ हजार ४ सय रुपैयाँमा समितिले बिक्री गरेको छ। एउटा ग्यास सिलिन्डरको ३३ रुपैयाँ ३३ पैसाका दरले तीन थान ग्यास सिलिन्डर मात्र एक सय रुपैयाँमा बिक्री गरेको प्रमाण फेला परेको छ।

जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गठित समितिले पारित गरेको ७४ प्रकारको जिन्सी मालसामानको दररेट अनुसार २ थान जेनेरेटर १ हजार ५ सय रुपैयाँ, ४ थान टि.भिको ४ हजार रुपैयाँ, ५ थान डेक्सटप कम्प्युटरको २ हजार २ सय रुपैयाँ, ३ थान कम्प्युटर टेबलको २ सय रुपैयाँ, २ थान फोटोकपी मेशिनको १ हजार रुपैयाँ, १ थान फ्रिजको ५० रुपैयाँँ, ४ थान रिभल्वीङ कुर्सीको १ सय, २२ थान ल्यापटपको ४ हजार ४ सय, ३ थान ग्यास सिलिन्डरको १ सय रुपैयाँ लगायतको दरले ७४ प्रकारका सामानको ७७ हजार ५ सय ८० रुपैयाँ १५ पैसा मूल्याङ्कन रकम स्वीकृत गरेर सामान लिलामी गरेको छ।

कार्यालयले तीन वटा डाक कबोल गर्ने मध्ये सबैभन्दा बढी डाक कबोल गर्ने भरत तामाङ्गको ८२ हजार ५ सय ८० रुपैयाँको लिलामी गरेको देखिन्छ। महालेखापरीक्षकको प्रारम्भिक लेखापरीक्षणको प्रतिवेदन २०७६ अनुसार समितिले लिलाम बिक्री गरेको सामानहरुको मूल्यमा विश्वस्त हुने आधार छैन । कार्यालयले नियममा भएको व्यवस्थाको पालना नगरी लिलाम समिति गठन गरेर सामान बिक्री गरेको मलेपले जनाएको छ।
नागरिकबाट

Logo