‘सञ्चार माध्यमले जन उत्तरदायी भूमिका निर्वाह गर्न सक्नु पर्छ’ : उपप्रधानमन्त्री पोखरेल

‘सञ्चार माध्यमले जन उत्तरदायी भूमिका निर्वाह गर्न सक्नु पर्छ’ : उपप्रधानमन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिर्वतित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न संचार माध्यमको ध्यानाकर्षण गराएका हुन् । अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी हुनु भन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप पनि उनले लगाए । उनले सार्वजनिक पद धारणा गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने र त्यसमा उत्रन सक्नुपर्ने धारणा राखे ।

मन्त्री पोखरेलले संचार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे । विगतमा निरन्तरको राजनीतिक अस्थिरतामा चलखेल गर्नेहरुको विकृत मनोदशा देखिन थालेको र नेपथ्यका तीनै पात्रहरुको भूमिकाका कारण राजनीतिक तहमा बसेका मान्छेहरु पनि मनोरोगी भएर प्रकट हुने गरेको बताए । केही सञ्चारगृहले पनि राजनीतिक अस्थिरता चाहनेहरुको प्रतिनिधित्व गरे जसरी सरकारले दुई बर्ष पूरा गर्दै गर्दा ‘अब त अविश्वासको प्रस्ताव ल्याउन मिल्ने भयो’ भन्दै समाचार प्रकाशन गरेको टिप्पणी गरे ।

कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणी रेग्मी चुमरेलाई प्रदान गरिएको थियो । त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । दुवैलाई जनही ५ सय डलर रुपैया प्रदान गरिएको छ । कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरु नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट, राष्ट्रिय सूचना अयोगका पूर्व आयुक्त किरण पोखरेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, नेपाल समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । इञ्जा एसियाका अध्यक्ष टंक पन्तका अनुसार, यो रकम इञ्जा, डिसी नेपाल डटकम र इनेप्लिज डटकमको संयुक्त आव्हानमा संकलन गरिएको थियो ।

Logo