नक्कली चालक अनुमतिपत्र बनाउने पक्राउ

नक्कली चालक अनुमतिपत्र बनाउने पक्राउ

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने रुबी मिश्र रहेको प्रहरीले जनाएको छ । गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका– १२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र फेला पारेको थियो । सवारीचालक अनुमतिपत्र नक्कली पाएपछि ट्राफिक प्रहरीले आवश्यक कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–९ का चन्दन मिश्रले पाँच हजारमा सो अनुमतिपत्र बनाइदिएको कुशवाहाले बताएपछि प्रहरीले छानविनको क्रममा चन्दनकी आमा रुबी मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । सो कार्यमा उनको संलग्नता देखिएपछि जिल्ला अदालत धनुषाबाट थप अनुसन्धानका लागि प्रहरीले चार दिनको म्याद लिएको छ ।

रुबीले ६० हजारसम्म लिएर सरकारी छापसमेत किर्ते गरी नक्कली सवारी अनुमतिपत्र बनाउने गरेको चार वटा उजुरी परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। रुबीले आफ्नै छोरा चन्दनमार्फत सवारी अनुमतिपत्र चाहिने व्यक्ति खोजेर नक्कली अनुमतिपत्र बनाइ बेच्ने गरेको अनुसन्धानबाट देखिएको उनले जानकारी दिए ।
रासस

Logo