प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिनमा काटेको केकले सामाजिक सञ्जालमा सर्वत्र चर्चा पायो । प्रधानमन्त्री ओली जन्मघर तेह्रथुमको आठराई गएर नेपालको नक्सासहितको केक काटेपछि यसले चर्चा पाएको हो । विगतमा पनि जन्मदिन मनाउँदै आएका प्रधानमन्त्रीले जन्मदिन मनाउनु नयाँ कुरा थिएन । तर नेपालको नक्सासहितको केक काटेको केही छिनमै प्रधानमन्त्री पुनः सामाजिक सञ्जालमा विवादित बनेका हुन् । प्रधानमन्त्री ओलीले काटेको केकको बारेमा यति धेरै चर्चा भइरहदा यसको सकारात्मक सन्देश छ कि भनेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग केन्द्रबिन्दुका उपसम्पादक विवश कुलुङले ५ प्रश्न गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बर्थ डे’ का सम्बन्धमा किन यति धेरै चर्चा ? यो चर्चामा सकारात्मक पक्ष पनि देख्नुहुन्छ ?
प्रधानमन्त्री ज्यूको बर्थडेको सन्दर्भमा जुन विवादका कुरा गर्न खोजिएको छ । त्यो तर्कसम्मत, आधारयुक्त छैन । कुरा के हो भने प्रधानमन्त्री ज्यूले आफूले जन्मदिन मनाउँनु पर्यो, जन्मदिनका लागि सामेल हुन कसैलाई बोलाएर गरिएको होइन । देशको प्रधानमन्त्रीको जन्मदिनमा सुभेच्छा राख्ने गरी विभिन्न पार्टीका नेताहरू, संवैधानिक अंगका जिम्मेवार व्यक्तित्वहरू, सर्वसाधारणहरूले शुभकामना दिनु सामान्य कुरा हो । उहाँको जन्मघर जुन उहाँको बुवाले वि.स.२०२० सालमा बेचेर बसाइ सर्नु भएको थियो । त्यहाँ नेपाल बैंकको कार्यालय स्थापना साथै ढुङ्गेसाँघु बाटो उद्घाटन लगायत सरकारका प्रधानमन्त्रीको हैसियतमा गर्ने कामहरूमा उहाँ त्यो उद्घाटनमा पुग्ने गरी जानु भएको थियो । त्यही शिलशिलामा जन्मघरमा बर्थडे मनाउनु भएको हो । यो सन्दर्भमा सामाजिक सञ्जालहरूमा भएका टिका टिप्पणीहरू बडो उदेक लाग्दा छन् । देशको प्रधानमन्त्रीलाई जनताले जनसमुदायले, शुभचिन्तकले जन्मेका गाउँघरका साथीसंगीहरूले शुभकामना दिने कुरालाई कतिपय पूर्वाग्रहीहरूले एकदमै राजसी भयो भनेर टिप्पणी गरेका छन् । तिनले बुझेको राजसी अवस्था देखेर बडो दया लाग्छ । प्रधानमन्त्रीले इन्टरनेसनल स्टान्डर र प्राक्टिसमा आधारित भएर मनाउनु भएको हो । केक काट्ने सन्दर्भमा पनि जनसमुदायले नेपालको नक्सासहित उहाँको ह्याप्पी बर्थडे केक काटिदिएका हुन् । जुन कुरा विवाद गरिएको छ । त्यो कुनै सन्दर्भ छैन किनभने तिनीहरूले गुगलमा गएर सर्च गरुन् न । भारतमा मोदी जीले गर्नुभएको छ । गुलरीयाले फिलिपिन्समा के गर्नु हुन्थ्याे ? ओबामाले अमेरिकामा के गर्नु भएको छ ? अष्ट्रेलियामा के भएको छ ? चीनमा के भइरहेकाे ? हेर्नुपर्याे नि ।
सामाजिक सञ्जाल हेर्दा नेपालको आकारमा रहेको ‘केक’ काटेको कुरामा बढी आक्रोश देखिन्छ । सडकमा पनि उत्रेका छन् केही ? नेपालको नक्सा जस्तो ‘केक’को अर्थ के हो ?
नेपालमा मात्र होइन, अमेरिकाको, भारतको, फिलिपिन्सको, अष्ट्रेलियाको, चीनको, रुसको नक्सा सहितका केकहरू पनि अन्तर्राष्ट्रिय प्रचलनमा उपयोग गरिएका छन् । प्रधानमन्त्रीले त्यही कुरा गर्नुभएको हो । यहाँ कुवाका भ्यागुताहरू उफ्रिएर केही पनि हुन्न । किनभने उनीहरूले संसार हेर्नुपर्यो, संसारका नेताहरू कुन रुपमा अगाडि बढेका छन् भन्ने हेर्नुपर्यो । नेपालमा चाहिँ प्रधानमन्त्रीले गर्नुभएको यो अभ्यास कुनै नयाँ र उहाँले मात्रै प्रयोग गरेको अभ्यास होइन । यो त संसारभरि विभिन्न रुपमा भएको अभ्यास हो । अब यसलाई आँधीको रुपमा लिनुपर्ने के सरोकार छ ? तिनीहरूले संसार के रहेछ भनेर गुगल सर्च गरेर हेर्न सक्छन् नि । त्यो पनि हेर्न नसक्ने मानिसहरूले यसमा टिकाटिप्पणी गर्ने के हैसियत राख्छन् ?
पार्टीले भर्खरै पारित गरेको आचार संहिता ‘बर्थ डे’मा उल्लंघन भयो भन्ने अर्को आरोप पनि छ ?
आचारसंहिता सापेक्ष कुरा हो । प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउन कसैलाई बोलाएर निमन्त्रणापत्र बाँडेर कसैलाई अनिवार्य उपस्थितीका लागि कुनै फङ्सन गर्नुभएको होइन । कुनै समारोह आयोजना भएको छैन । बालुवाटारमा सचिवालयले सामान्य आयोजना गरेको हो । त्यहाँ उपप्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, प्रमुख निर्वाचन आयोगका व्यक्तित्व लगायत बाहिरका केही व्यक्तित्वको उपस्थिती थियो । अनि पाँचथरमा चाहिँ उहाँ खानेपानी आयोजनाको उद्घाटन गर्न जानुभएको हो । त्यहाँका जनसमुदायले उहाँको जन्मदिनको शुभकामना दिएका हुन् । उहाँले आफूले केही आयोजना गर्नुभएको होइन । उहाँको जन्मघरमा पनि उहाँका स्थानिय साथी सहयोगीहरू र त्यहाँको टोलले कार्यक्रम आयोजना गरेको हो । प्रधानमन्त्रीको कार्यक्रमलाई जनताले आफ्नो प्रधानमन्त्रीको क्षणिक सम्मान गरेको कुरामा दुनियाँले किन रिसाउनुपर्यो ? प्रधानमन्त्रीको जन्मदिन मनाएको विषय लिएर उहाँको बदनाम गर्नुको के अर्थ छ ?
त्यसो भए ‘बर्थ डे’मा प्रयोग गरिएको नक्साले दिन खोजिएको खास सन्देश चाहिँ के हो ?
तपाईले बर्थ डेमा प्रयोग गरिएको केकको कुरा गर्नुभयो । अहिले यसरी विश्वमा आफ्नो देशको नक्सा, देशको झण्डा जस्ता कुराहरू सेलिब्रेशनमा प्रयोग गर्ने अभ्यास हुँदै आएको छ र प्रधानमन्त्री ज्यूको राष्ट्रिय अभ्यासको यही कुरालाई उहाँले स्वीकार गर्नुभएको हो । उहाँले आफूले समारोह आयोजना गर्नुभएको होइन । जनताले त्यो हिसाबले बुझ्नु भएन । आयोजक तथा शुभेच्छुकहरूले यो कुराको प्रयोग गर्दा उहाँले स्वीकार गर्नुभएको हो । नेपालमा लिम्पीयाघुरा, कालापानी र लिपुलेकसहितको नक्सा छाप्नुपर्यो भनेर कुरा गर्ने मानिसहरूले उहाँले केकमा एउटा सिम्बोलिक रुपमा त्यो नक्सा प्रयोग गरेर जन्मोत्सव मनाउँदा कुरा काट्ने पाखण्डीहरूले त्यो सिम्बोलिक अर्थ बुझ्नुपर्यो नि । यो कुरालाई अनावश्यक रुपमा विवादित बनाएको म कुनै अर्थ देख्दिँन ।
यस्तो प्रतिक्रियालाई बालुवाटारले कसरी हेरेको छ ? अलि बढी नै भयो भन्ने छ कि, जे भयो ठीक भयो भन्ने छ ?
अन्तर्राष्ट्रिय रुपमा यस्ता अभ्यास हुँदै आएका छन् । अमेरिकाको, भारतको, फिलिपिन्सको, अष्ट्रेलियाको, चीनको, रुसको नक्सासहितका केकहरू पनि अन्तर्राष्ट्रिय प्रचलनमा उपयोग गरिएका छन् । अबुझ र विवेकहीन मानिसहरूले यस कुरामा विवाद सिर्जना गरे किनभने उनीहरूले आफ्नो योग्यताले र हैसियतले यो कुरा बुझ्न सक्दैनन् । सामाजिक संजालको प्रयोग गरेर यस्ता कुराको आलोचना गर्नुभन्दा पनि उनीहरूलाई गुगल हेरेर यस्तोे कुराको अध्ययन गर्न म अनुरोध गर्दछु । प्रधानमन्त्रीले गर्न नहुने काम गरेजस्तो देखेर जसले अनावश्यक रुपमा विवाद सिर्जना गर्न खोजेका छन् समय खेर फाल्नुबाहेक त्यसको कुनै अर्थ छैन । काम गर्ने मान्छेलाई यस्तो गर्ने फुर्सद नै हुँदैन ।































प्रतिक्रिया