मध्यपुरथिमि ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन थालेको बताएका छन् ।
नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा नारायणविलास जोशीको स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको आज शिलान्यास गर्दै उनले भने “कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका सङ्केत र लक्षण देखापर्न थालेका छन् ।”
विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफैंलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्ती कमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हुँदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उनको भनाइ थियो ।
नारायणविलास प्रतिष्ठान भवनका लागि प्रदेश सहयोग
उक्त भवनका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक रकम र अन्य सहयोगका लागि आफूले पहल गर्ने बताउँदै उनले प्रदेश सरकारका तर्फबाट न्यूनतम ५० लाख सहयोग दिने प्रतिबद्धता आए पनि अझै रकम थप गर्ने र स्थानीय सरकारले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य एवं प्रतिष्ठानका अध्यक्ष डा राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका संस्थापक नेता जोशीको त्याग र योगदानको सम्मान गर्न उहाँका स्मृतिमा छिट्टै भवन निर्माण गरिने बताए ।
रासस





























प्रतिक्रिया