काठमाडौं ।
नेपाल–अष्ट्रेलिया औपचारिक कूटनीतिक सम्बन्ध शनिबारदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।
सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अष्ट्रेलियाका विदेशमन्त्री मारिसे प्यानेले पारस्परिक विश्वास, समझदारी र सहयोगमा आधारित दुवै देश र जनाताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साठी वर्ष अघि आजकै दिन नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
द्विपक्षीय सम्बन्ध स्थापनको ६० औँ वर्ष प्रवेशका अवसरमा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले शनिबार साँझ राजधानीमा स्वागत समारोह आयोजना गरेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका सल्लाहकार, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी लगायत नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
रासस





























प्रतिक्रिया