मकवानपुरको थाहानगरस्थित बज्रवाराही स्वास्थ्यचौकीमा दुईदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा काठमाण्डौं हस्पिटल बल्खुको सहयोगमा शिविर संचालन भएको हो । फाल्गुण २ र ३ गते भएको शिविरमा ६ सय ८० जना विभिन्न रोगका बिरामीहरू लाभान्वित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सवै सचेत हुनुपर्ने बताए । नि:शुल्क स्वास्थ्य शिविरले ग्रामिण भेगका जनताहरूलाई ठूलो लाभ मिल्ने बताउंदै खतिवडाले आयोजकप्रति धन्यबाद व्यक्त गरे । राजधानी हस्पिटलका प्रमुख कार्यकारी निर्देशक शरद अधिकारीले सांसद खतिवडाको सिफारिसमा ५ जना र प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाको सिफारिसमा ५ जना बिरामीहरुलाई वार्षिक रुपमा नि:शुल्क वेडचार्ज तथा सशुल्क सेवा उपलब्ध गराउने घोषणा गरे । कार्यक्रममा थाहानगरपालिका वडा नं ६ का वडाध्यक्ष शशिधर सुवेदीले कतिपय स्वास्थ्य शिविरहरू नाम मात्रका हुने भएपनि यो शिविर फलदायी रहेको बताए ।

आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम राजेन्द्र विडारीले राजधानी अस्पताल परिवारप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि अस्पताल र प्यासिफिक सहकारीबीचको सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघका लेखा समिति संयोजक महेश्वर सुवेदी, जिल्ला सहकारी संघका कोषाध्यक्ष विमलकुमार ढकाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बज्रवाराहीको सभापति सानुकाजी गोपाली, इलाका प्रहरी कार्यालय प्रमुख विकास तामाङ, राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरका अध्यक्ष प्रमोदकृष्ण जोशी, बज्रवाराही माविकाअध्यक्ष इश्वरलाल रुम्वालगायत विभिन्न संघसंस्था तथा सहकारीका प्रमुख एवम् प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सहकारीका कोषाध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए ।






























प्रतिक्रिया