बसाइँ सर्ने तयारीमा खरिपाटीका स्थानियवासी

बसाइँ सर्ने तयारीमा खरिपाटीका स्थानियवासी

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्र लगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार डेरामा बस्ने धेरै परिवार डेरा छाडेर सरिसकेका छन् । उद्धार गरिएका नेपाली त्यहाँ राख्न ल्याउने निश्चित भएसँगै उनीहरू क्वारेन्टाइनमा राखिएकाहरू घर फर्किएपछि मात्रै फर्किने भन्दै गाउँतिर फर्किएका हुन् । स्थानीय लक्ष्मण काफ्ले घर भएकाहरूसमेत बसाइँसराइको योजनामा रहेका बताउँछन् । ‘हामी पनि बसाइँ सर्न चाहन्छौं तर डेरामा बसेकालाई जस्तो सजिलो भने छैन,’ उनले भने, ‘गाईबस्तु पनि छन्, तिनलाई कहाँ राख्ने भन्ने चिन्ता छ।’

क्वारेन्टाइन राख्ने भनिएको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् तालिम केन्द्र आसपास सयभन्दा बढी घर छन् । सरकारले साता दिन अघिबाटै प्रहरी टोली खटाएर उद्धार गरिएकालाई त्यहीं राख्ने तयारी गरिरहेको छ। यसकारण अहिले त्यो विद्युत् तालिम केन्द्रको गेटदेखि नै प्रहरी राख्ने व्यवस्था गरिएको छ। तालिम केन्द्रको गेटै अघि पसल थापेर बसेकी कृष्णमाया थापामगरले एक सातादेखि दैनिक विरोध प्रदर्शन हुँदै आए पनि सरकारले सुनुवाइ नगरेको भन्दै दुखेसो पोखिन्। ‘हामीजस्ता आवाजविहीनको आवाज कसले पो सुन्छ र यो देशमा ?’ उनले भनिन्, ‘यसो भएपछि बसाइँसराइ गरेर जानुको विकल्प नै के भयो र ?

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले उपभोक्ताको अधिकारमाथि जबर्जस्ती गर्नु उचित नभएको प्रतिक्रिया दिए। चीनबाट फर्काएकालाई बस्ती नभएको ठाउँंमा राख्न स्थानीयले बारम्बार सरकारलाई सुझाए पनि बेवास्ता हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी उनले गरे। स्थानीयलाई यसबारे विस्तृत रूपमा बुझाउन सकेको भए पनि त्रासको स्थिति नबन्ने भन्दै उनले त्यसबारे पनि कुनै चासो नदेखाई जबर्जस्ती सुरक्षाकर्मी खटाएर सरकारले जनभावनाको उपेक्षा गरेको आरोप लगाए।
नागरिकबाट

Logo