कोरोना भाइरसको असर नेपाली जलविद्युत् निर्माणमा पनि

कोरोना भाइरसको असर नेपाली जलविद्युत् निर्माणमा पनि

केन्द्रबिन्दु
0
Shares

बेंसीशहर ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण यहाँको एक जलविद्युतको काम ठप्प भएको छ । चीनिया कम्पनीद्वारा निर्माण भइहेको मर्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको काम ठप्प भएको हो ।

नयाँ वर्ष मनाउन स्वदेश फर्किएका चिनियाँ कामदार कोरोना भाइरस महामारीका कारण फर्कन नपाउँदा निर्माण कार्य रोकिएको आयोजनाले जनाएको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार चीन गएका ५६ जना प्राविधिक तथा कामदारहरु नेपाल फर्कन सकेका छैनन् ।

चीनको चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लि.ले आयोजनाको निर्माण गरिरहको छ । ‘आयोजना प्रमुख, ईन्जिनियर, प्राविधिक, कामदार सबै चीनमै अड्कीएका छन्’, जनसम्पर्क अधिकृत गुरुङले भने, ‘यहाँ ४ जना चीनिया मात्र बाँकी छन् । निर्माणको काम ठप्प छ ।’ एक महिनादेखि निर्माण काम ठप्प भएको आयोजनाले जनाएको छ ।

चीन गएका आयोजना प्रमुखसहितका प्राविधिक र कामदारहरु फेब्रुअरी ५ तारिखमा नेपाल आउने कार्यतालिका रहेको थियो । तर, चीनमा फैलिएको कोरोना भाइरसका कारण उनीहरुलाई नेपाल आउन दिइएको छैन । ‘उनीहरु नेपाल आउने तालिका अझै अनिश्चित छ’, गुरुङले भने, ‘उनीहरु नआउँदासम्म निर्माण अघि बढ्न सक्दैन । निर्माण रोकिंदा निर्धारित लक्ष्यमा काम नसकिने देखिन्छ ।’

२०७३ चैतबाट निर्माण सुरु भएको आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । करिब ८५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । आगामी चैतमा विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।

आयोजनाको बाँध क्षेत्रको जग खन्ने काम पूरा भएको छ । न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार ३ दशमलब ८४ किलोमिटर लामो मूख्य सुरुङको ढलानको काम ८५ प्रतिशत सकिएको छ । यस्तै, विद्युतगृहको सिभिल संरचना निर्माणको काम पनि सकिएको छ । आयोजनामा सुरुङसहित ७ सय २५ मिटर पेनस्टक पाइप राखिनेछ ।

३० मेगावाटको आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाईनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ । निर्माणधीन प्रसारण लाइन विद्युत उत्पादन सुरु हुने अवधिभित्र तयार नभए आयोजनाबाट उत्पादित विद्युत टारिकुना सबस्टेसनमा जोड्ने कम्पनीको योजना छ ।
अन्नपूर्णबाट

Logo