कोरोना भाइरस नियन्त्रणका लागि भईरहेका प्रयासबारे स्वास्थ्यमन्त्रीद्वारा संसदलाई जानकारी

कोरोना भाइरस नियन्त्रणका लागि भईरहेका प्रयासबारे स्वास्थ्यमन्त्रीद्वारा संसदलाई जानकारी


काठमाडौं ।

सरकारले नोवेल कोरोना भाईरस संक्रमण र नियन्त्रणका लागि भईरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समय लिएर बोल्दै कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारबाट भएका काम कारवाहीको जानकारी गराएका हुन् । प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मिलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको, प्राविधिक र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भईरहेको पनि उनले स्पष्ट पारे । संक्रमणबाट बच्नका लागि जनचेतना मुलक विज्ञापन बनाईएको र सम्बन्धित विज्ञहरुसँग विभिन्न चरणमा बैठक गरी अन्तर्क्रिया, परामर्श गर्ने काम भईरहेको उनले उल्लेख गरे ।

उनले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरि ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पारे । ढकालले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यही अनुसारको सर्तकता अपनाउने तयारी भईरहेको बताए ।

कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को (३) अन्र्तगत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी पनि गरिसकेको उनले जानकारी दिए । उनले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाईएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भईरहेको, तत्कालका लागि काठमाडौं उपत्यका भन्दा बाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि संभावित जोखिमको ठाउँमा राखेर आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे ।

मन्त्री ढकालले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाउँ नपाएको र ल्याउन ढिलाई गरेको भन्ने भनाईमा सत्यता नभएको दाबी गरे । उनले भने “ल्याएका विद्यार्थीलाई कुन स्थानमा राख्ने भन्ने कुराको नजिक पुगेका छौं । बस्तीभन्दा टाढा रहेको ठाउँहरु नै छान्नु उपयुक्त हुन्छ भन्ने बुझाईमा सरकार रहेको छ । ठाउँ नै नपाएर बानेश्वरको हलमा राख्ने कुराले रोग न्यूनीकरण हुन्छ भन्ने हामीलाई लाग्छ र त्यही गर्दा हुने हो भने यस्ता ठाउँहरु त पर्याप्त नै पाउँछौ । तर त्यो पूर्ण रुपमा रोगलाई संक्रमित हुन नदिने भन्दा पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग मात्रै हो भन्ने मेरो बुझाई रहेको व्यहोरा पनि म जानकारी गराउन चाहन्छु ।”

प्रतिनिधिसभाको मंगलबारकै बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरि ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका थिए । उनले चीनमा कोरोना भाइरसको उत्पत्ति र बढी संक्रमण पनि फैलिएकाले उनीहरुले यसमा उच्च सर्तकता र कडा व्यवस्थापन गर्न जरुरी भएपनि नेपालमा समस्या नभएकाले उसको जस्तै तयारी गर्नु भन्ने भनाई तर्क संगत नभएको बताए ।

उनले भने “चीन सरकार जसरी नाच्छ त्यही तालमा हामीले खुट्टा उचालि हाल्नुपर्छ भन्ने कुरा नेपाल सरकार विश्वास गर्दैन । हामीले हाम्रो आवश्यकताको आधारमा गर्ने हो ।” उनले भने “दिल्ली र बेइजिङमा पानी पर्यो भने काठमाडौमा हुनेहरु आफ्ना आफ्ना पक्षधरतामा छाता ओढ्छन् भने जस्तै हो ।”

Logo