विवादित यती हटाइयो

विवादित यती हटाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ । भ्रमण वर्ष सचिवालयले यती हटाएको हो । सचिवालयले विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा राखिएको यतीको मस्कट हटाएको छ।

भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानमा यतीको मस्कट राखिएको थियो । संस्कृतिप्रेमी र स्थानीयले यतीको मस्कटमा कुँदिएका चित्रप्रति आपत्ति जनाएपछि सचिवालयले त्यसलाई हटाएको हो । सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।

हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीबारे आइतबार साँझ विवाद आयो । यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएका थिए । चित्र सम्पदामैत्री नभएपछि नगर प्रहरीले ‘स्प्रे’ मार्फत सबै चित्र मेटायो। लगत्तै भ्रमण वर्ष २०२० को सचिवालयले यतीको मस्कट उक्त स्थानबाट हटाएको छ।

इन्द्रजात्रा व्यवस्थापन समिति र यसमा आबद्ध गुठी खलःले प्रेस विज्ञप्ति जारी गरी जीवित देवी देवताका अशोभनीय चित्र मस्कटमा राखिएकोमा आपत्ति जनाएको छ । नेपाल चिनाउन चित्रकारले अपनाएको शैलीप्रति समितिले विरोध गरेको हो।

समितिले भ्रमण वर्ष २०२० प्रति धार्मिक संघसंस्थाको पूर्ण समर्थन र ऐक्यबद्धता भएको प्रस्ट पारेको छ। साथै राष्ट्रका कलाकारप्रति सम्मान रहने विज्ञप्तिमा उल्लेख छ।
अन्नपूर्णबाट

Logo