विराटनगर ।
प्रदेश नं १ को प्रदेशसभाको आगामी पाँचौँ अधिवेशन माघ २३ गते देखि शुरु हुने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी हिउँदे अधिवेशन माघ २३ गते बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
यसैगरी बैठकले प्रदेश लगानी बोर्डको कार्यकारी निर्देशकमा डा सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा महेन्द्रबहादुर गुरुङ, जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत र सूचना प्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
बैठकले प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धी विधेयक ०७६, प्रदेश वन विधेयक ०७६, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न विधेयक ०७६ प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत सातै वटा मन्त्रालयको एक सय मिटर वरिपरि निषेध गर्नुका साथै प्रदेशभरि नियमन, नियन्त्रण तथा निषेध गर्ने लगायतका २४ वटा निर्णय भएको मन्त्री आङबोले जानकारी दिए ।
रासस































प्रतिक्रिया