सङ्खुवासभाका चन्द कार्यकर्ता कुकर बमसहित पक्राउ

सङ्खुवासभाका चन्द कार्यकर्ता कुकर बमसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा ।

सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो । सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो ।

सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । प्रहरीले सोमबहादुरलाई सभापोखरी गाउँपालिका–३ सुनाम्लाबाट विशेष सुराकीका आधारमा मङ्गलबार पक्राउ गरेको थियो ।

चन्द कार्यकर्ताद्वारा आत्मसमर्पण

नेत्रविक्रम चन्द समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् । बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले बुधबार चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएका हुन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधि लगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेका थिए । सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उनलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।

आत्मसमर्पणसँगै सापकोटा १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिए । “प्रतिबद्धता विपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उहाँले पछि सफाइ पाउनुहुन्छ”, निमित्त प्रजिअ पन्तले भने ।
रासस

Logo