पुनःनिर्माणको अनुभव अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन गरिने

पुनःनिर्माणको अनुभव अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गोरखा भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि, हासिल भएका अनुभव, दस्तावेज, चुनौती एवं कमी कमजोरी लगायत विषय जानकारी गराउने उद्देश्यले आगामी वर्ष अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी नोभेम्बर २७ देखि २९ सम्म काठमाडौँमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलन तयारीका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । यसैगरी प्राधिकरण कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय गठन भएको छ । सचिवालयको सक्रियतामा निजी आवास, सांस्कृतिक पुरातात्विक संरचना, सार्वजनिक भवन र सामाजिक क्षेत्र, जीविकोपार्जन तथा आर्थिक पुनरुत्थान, संस्थागत तथा वित्तीय व्यवस्थापन र विपदमा राहत तथा उद्धार गरी ६ क्षेत्रमा कार्यशाला गरिसकेको सचिवालयको सदस्य सचिवसमेत रहेका प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

६ विषयका कार्यशालाको अन्तिम कार्यशालाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले हासिल गरेका उपलब्धि, कानुनी व्यवस्था भए पनि लागू हुन नसकेका विषय, नेपालको उपलब्धि अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । “ऐनमा पुनःनिर्माण कोषको व्यवस्था छ, त्यो कार्यान्वयनमा आएन, त्यो मात्र कार्यान्वयनमा आएको भए पनि अहिलेभन्दा धेरै उपलब्धि भइसक्ने थियो, धेरै पुरातात्विक सम्पदा बनिसक्ने थिए”, उनले भने ।

ऐनमा पुनःनिर्माणको बजेट ‘फ्रिज’ नहुने व्यवस्था भए पनि कार्यान्वयन नभएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए । केही वर्षको बजेट फिर्ता ल्याए पनि पछि फिर्ता गर्न असहज भएको उनको भनाइ थियो । सम्मेलन संयोजक श्रेष्ठले पुनःनिर्माणका उपलब्धि भाबी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकरण गरी पेश गरिने जानकारी दिए । प्राधिकरणमा दुई पटक गरी करिब डेढ वर्ष काम गरेका शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गोरखा भूकम्प र यसपछिको पुनःनिर्माणको विषय राम्रोसँग दस्तावेजीकरण भए संसारका विभिन्न विश्वविद्यालयमा यसको पठनपाठन हुनसक्ने बताए ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले गोरखा भूकम्पपछि विदेशबाट आएका वैज्ञानिकले अनुसन्धान गरी एक हजारभन्दा बढी लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएकाले तिनलाई अभिलेखीकरण गर्नुपर्ने बताए । भूकम्प अघि देशभर २१ भूकम्प मापन केन्द्र रहेकामा हाल ८२ ठाउँमा विस्तार भएको उनले जानकारी दिए ।

गृह मन्त्रालयका उपसचिव वंशीधर आचार्यले भूकम्प अघि र पछिको विपद् व्यवस्थापनको संरचनागतस्वरुपका बारेमा अध्ययन हुनुपर्ने बताए । अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका लागि भूकम्पको पाँचौँ स्मृति दिवसका अवसरमा वैशाखमा राष्ट्रिय सम्मेलन गरिने प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए ।
रासस

Logo